टीकापुर । टीकापुरस्थित सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालयले आज आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वैद्यनाथ बाहिनी अत्तरीयाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक दीपक अधिकारी रहेका थिए ।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक अधिकारीले आफ्नो पेशाप्रति इमान्दार र जिम्मेवार बन्न निर्देशन दिएका छन् । उनले सशस्त्र प्रहरी संगठनले छोटो समयमै आफ्नो छवी उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरे ।
उनले शान्ति सुरक्षा, लागु पदार्थ दुर्व्यसन, चोरी तस्करी लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले शिक्षालयले दक्ष जनशक्ति उत्पादन गर्ने गरेको बताए ।
शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक नरेन्द्र सेनले धन्यवाद व्यक्त गर्दै शिक्षालय हरेक जिम्मेवारी बहन गर्न प्रतिवद्ध रहेको बताए । उनले आफू यसअघि सशस्त्र प्रहरी उपरीक्षक हुँदा शिक्षालयको संस्थापक समादेशक रहेर समेत काम गरिसकेको बताउँदै टीकापुरबासीले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
स्थापना दिवसको अवसरमा शिक्षालयले साताब्यापी विविध कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा साताब्यापी कार्यक्रमका विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको छ ।
स्थानपना दिवसकै अवसरमा शिक्षालयले अमर प्रहरीका परिवार र अवकास प्राप्त कर्मचारीलाई समेत सम्मान गरेको छ । उसले उत्कृष्ठ कर्मचारीका रुपमा डिएसपी ईश्वरीदत्त भट्ट, प्रहरी निरिक्षक सुरेश प्रसाद कलौनी, प्रहरी निरिक्षक भुपेन्द्रबहादुर पाल, प्रहरी निरिक्षक खेमराज जोशी, प्रहरी नायब निरिक्षक सकलबहादुर बम, सहायक निरिक्षक महेन्द्र शाह लगायतलाई सम्मान गरेको छ ।
शिक्षालयले स्थापना दिवसका अवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको छ । शिक्षालय २०५९ मा उग्रतारा गणका रुपमा स्थापना भएको थियो । २०७५ माघ २० गते गणलाई समायोजन गर्दै शिक्षालयका परिणत गरिएको थियो ।
प्रतिक्रिया