धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई पराजित गरेको छ । बिहीबार फाप्ला मैदानमा भएको सुपर फोरको दोस्रो खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको हो ।
१११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउनसक्यो । सुदूरपश्चिमका लागि मनिषा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाइन् । आर्मीकी सुस्मिता भुषालले ३ तथा सीता शाही र लक्ष्मी साउदले १/१ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले सम्झना खड्काको उत्कृष्ट पारीको मदत्तले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । खड्का ५७ बलमा ७४ रनमा अविजित रहिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेका थिइनन् । सुदूरपश्चिमका जानकी थापाले २ तथा आशिका महरा र रेवती धामीले एक÷एक विकेट लिइन् ।
बिहीबार नै भएको सुपर फोरको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको थियो । फराकिलो जितसंगै सुपर फोरको अंक तालिकामा एपीएफ शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सुपर फोरका दुई खेल हुनेछन् । सुपर फोरमा अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुई टीमबीच शनिबार फाइनल हुने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।
प्रतिक्रिया