ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
मार्तडी–कोल्टी बस सेवा

बारम्बार हुन्छ उद्धाटन, सेवा सञ्चालनको छैन अत्तोपत्तो

शुक्रबार ११, माघ २०८१ ०७:५४

निमेन्द्र शाही, बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्र कोल्टीमा ०७७ फागुन १६ गते पहिलोपटक बस पुर्‍याइएको थियो । भेरी यातायातको ०२–००१ ख ०४०२ बस त्यसबेला पहिलोपटक कोल्टी पुगेको थियो । पहिलोपटक बस पुग्दा कोल्टी क्षेत्रका बासिन्दाहरु हर्षोल्लित भएका थिए । तर दोस्रो दिनदेखि नै बस सञ्चालन हुन सकेन । 

फेरि यतिबेला ०८१ पुस २८ गते पुनः कोल्टीमा बस पुर्‍याइयो । बस पुगेपछि तामझाम पनि खुबै भयो । स्थानीय बासिन्दाले ०७७ जस्तै खुसी मनाउँदै अब त नियमित बस सेवा सञ्चालन होला भन्ने आश गरे । तर यतिबेला पनि त्यहीँ पुरानै अवस्था दोहोरिएको छ । 

बस पुर्‍याइएको दोस्रै दिनदेखि सेवा भने सञ्चालनमा छैन । अर्थात, यतिबेला पनि मार्तडी–कोल्टी बस यातायात सेवा सञ्चालन हुन सकिरहेको छैन । यसरी पटकपटक बस कोल्टी पर्‍याउने होडबाजी चल्छ, तर सेवा सञ्चालनको अत्तोपत्तो भने हुदैन । ‘पटकपटक कोल्टीमा बस ल्याएर उद्घाटन भइरहेकै छन्, नेताहरु भाषण पनि गर्छन्, तर त्यसपछि नेताहरु आफ्नो बाटो लाग्छन्, बस पनि फर्किदैनन्,’ स्वामिकार्तिक खापर गाउँपालिका ४ का जीवन महताराले भने ‘कोल्टी क्षेत्रका बासिन्दाले मार्तडी जान चर्को भाडा तिरेर भए पनि जिपमा चढ्नुको विकल्प हुदैन ।’
 
जगन्नाथ गाउँपालिका ५ गोत्रीका प्रकाश शाहीको गुनासो झन कडा छ । ‘कर्णालीका नेता बलिया भएकाले बाजुराको भुगोल छिचोलेर हुम्लाको सरिसल्लासम्म बस सञ्चालन भइरहेको छ । बाटो पनि फराकिलो छ । गाडी भाडा पनि सस्तो छ,’ उनले भने,  ‘त्यहाँ दैनिक तीनचार वटा बस ओहोरदोहर गर्छन् । तर हाम्रातिर प्रचार मात्र बढी हुन्छ, तर बस कहिल्यै फर्केर आउँदैन ।’

मार्तडीस्थित बसका संयुक्त बुकिङ्ग काउन्टरका सन्तोस डँडालले ४२ किलोमिटर लम्बाइको सडकमा आठ घण्टा भन्दा बढी समय लाग्ने भएपछि कसैले बस नचलाउने अवस्था आएको बताए । ‘बाटो फराकिलो र सडकमा बनेका घर टहरा नहटाएसम्म गाडी नियमित गराउन सक्ने अवस्था छैन । त्यसैमा यतिबेला हिउँ परेर अप्ठेरो छ । बर्षातमा त पुल नभएका कारण बस चल्न सक्ने कुरै भएन,’ उनले भने ।
 
कोल्टी–मार्तडी सडक खण्डको जम्मा ४२ किलोमिटर सडक २५ वर्षदेखि पुरा हुन सकेको छैन । यस सडक खण्डमा चार ठाउँमा मोटेरेबल पुलको आवश्यकता छ । जसमा दुई पुलको मात्र ठेक्का भएको छ भने बाँकी दुई पुलको सुरसारनै छैन । त्यस खण्डमा पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयका फरकफरक ठेक्का छन् । सडकका ठेक्का भएका ठाउँमा काम प्रभावकारी हुन सकेका छैनन् । 

पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले ठेक्का भएका सबै काम तिब्र गतिमा भइरहेको दाबी गरे । दानसाँघुमा पुल बनाउनका लागि रकम नभएको उनले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बस सञ्चालन भइरहेका छन् या छैनन् भन्ने आफूलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया