ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन विधेयक पारित

के हुन्छ उपकुलपति जोशीको पद ?

शुक्रबार ११, माघ २०८१ ०८:३१

धनगढी । ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले विधेयक पारित गरेको हो। 

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेपछि बहुमतले पारित गरिएको हो । यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाही छलफलमा सहभागी भएका थिए । सामाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई हटाइएको छ । मुख्यमन्त्री प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक हुने व्यवस्था ल्याइएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए । 

उनका अनुसार अब प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘कुलपति, उपकुलपति, सचिव र दुई जना परिषद् सदस्यको मुख्य कार्यकारी समिति बन्ने भएको छ,’ जोशीले भने, ‘अन्य विभिन्न विधामा टेकेर प्राज्ञ पनि नियुक्त हुने छन् ।’ यसअघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफाबार छलफलपछि समाजिक विकास समितिबाट मंसिर २८ गते पारित भएको थियो । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित भएसंगै उपकुलपति जोशीको पदबारे पनि चाँसो बढेको छ । ‘अहिले उपकुलपति रहेका जोशीलाई उपकुलपतिमै यथावत राखेर कुलपति र अन्य पदमा मात्रै नियुक्ति पनि हुनसक्छ,’ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘जोशीलाई नै कुलपतिमा नियुक्ति दिएर अन्य पदमा अन्य प्राज्ञलाई नियुक्त गर्न पनि सकिन्छ । जोशीलाई हटाएर सबै पदमा नयाँ नियुक्ति पनि हुनसक्छ ।’

प्रतिक्रिया