ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा १२ वर्षअघि भएको ‘हत्याकाण्ड’, अझै निस्कर्षमा पुगेन प्रहरी

शुक्रबार ०७, मङि्सर २०८१ ०८:२१

धनगढी । २५ मंसिर २०६९ को राति १० बजेको थियो । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका २६ वर्षीय ओमप्रकाश पन्तको मोबाइलमा घण्टी बज्यो । फोन पन्त थरकै अर्का व्यक्तिको थियो । फोनमा कुराकानी गरेपछि ओमप्रकाश हतारिएका देखिन्थे । आफूलाई असुरक्षा भएको भन्दै उनले पटकपटक प्रहरीको कन्ट्रोल नम्बरमा फोन लगाए । तर, प्रहरीले ओमप्रकाशको कुरामा गम्भीर भएन । दुई घण्टापछि १२ बजे ओमप्रकाश ‘मलाइ मार्न आउँदै छन्’ भन्दै घरबाहिर निस्के । 

घरमै रहेकी उनकी बहिनीले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गर्दै जानकारी दिन खोज्दा ड्युटीमा रहेका प्रहरीले उल्टै जिस्क्याए । त्यसको भोलिपल्ट २६ गते उत्तरबेहडीमा ओमप्रकाश धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत फेला परे । ‘घटनास्थलमा फलामको धारिलो डण्डा फेला परेको थियो,’ ओमप्रकाशका बुवा श्रीकृष्ण पन्त भन्छन्, ‘बीभत्स हत्या भएको प्रमाण घटनास्थलमा थियो । तर, घटनाको १२ वर्ष पुग्दासमेत प्रहरीले संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।’

श्रीकृष्णका अनुसार छिमेकीसँग जग्गाको सीमाका विषयमा पटकपटक विवाद हुने गरेको थियो । ‘सीमा विवादकै कारण छोराको षडयन्त्रपूर्वक हत्या गरिएको हो,’ उनले भने, ‘मैले पटकपटक घटनामा संलग्नको किटान गरेरै प्रहरीलाई जानकारी गराएको छु । आरोपित व्यक्तिलाई प्रहरीले पनि धेरै पटक सोधपुछ गरेको छ । तर, अभियुक्त बनाउन नसक्दा अहिले पनि हामीले न्याय पाएका छैनौँ ।’ 

पन्तका अनुसार अहिले पनि प्रहरी कार्यालय धाउँदा अनुसन्धान जारी छ भन्दै प्रहरी अधिकारीले जवाफ दिने गरेका छन् । ‘हत्याकाण्ड भएको १२ वर्षसम्म पनि दोषी निर्वाधरूपमा घुमिरहेका छन्,’ उनले भने, ‘सरुवा भएर आउने सुदूरपश्चिमका डीआइजी र कैलालीका एसपीलाई भेटेर घटनाबारे जानकारी दिने गरेको छु । सबैले आश्वासनमात्रै दिन्छन् । न्यायको कहिले पाइने हो, थाहा छैन ।’ छोराको हत्या भएपछि अहिले श्रीकृष्णले उत्तरबेहडीको घर बिक्री गरिसकेका छन् । धनगढीकै अदालत रोड क्षेत्रमा उनले बसाइ सारेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले भने ओमप्रकाश पन्त घटनाको अनुसन्धानको फाइल बन्द नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार वर्षाैसम्म सुल्झिन नसकेका घटनाको अनुसन्धानका लागि कैलाली प्रहरीसँग छुट्टै टोली छ । ‘ओमप्रकाश पन्त घटनाको अनुसन्धान जारी भए पनि अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन,’ बिष्ट भन्छन्, ‘कुनै नयाँ ‘क्ल’ू पाएपछि ‘पेन्डिङ’ घटनाको अनुसन्धान टोलीले काम थाल्छ ।’

पन्त परिवारका सदस्यलाई भने नयाँ आउने प्रहरी अधिकारीले पुरानो घटनाबारे चाँसो नदेखाउँदा अनुसन्धान टुङ्गोमा नपुगेको लागेको छ । ओमप्रकाशका बुवा श्रीकृष्ण उक्त घटनाको नयाँ कोणबाट अनुसन्धान हुन आवश्यक रहेको बताउँछन् । ‘घटनास्थलमा देखिएका प्रमाणले नै छोराको बीभत्स हत्या भएको देखाइसकेका कारण ती प्रमाणलाई केलाएर अनुसन्धान अगाडि बढाउन आवश्यक छ,’ उनले भने । 

प्रतिक्रिया