बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाभित्रका विद्यालयहरुमा योग कक्षा सञ्चालन हुने भएको छ । पहिलो चरणमा नगरपालिकाभित्रका ६ ओटा विद्यालयमा योग कक्षा सञ्चालन हुने बताइएको छ ।
जसमा केदारशीला मावि सुर्काल, निङ्गलाशैनी मावि देहीमाण्डौं, मणिलेक मावि गुरुखोला, कुलौन मावि खतेडी, वीरेन्द्र मावि शाहीलेक र केदारनागार्जुन मावि बगलेखान रहेका छन् । यी विद्यालयका एक/एक जना शिक्षकलाई पाँचदिने आयुर्वेद तथा योगाभ्यास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिइएको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । उनका अनुसार विद्यालयहरुमा हप्ताको एक दिन योग कक्षा सञ्चालन हुनेछ ।
नगरपालिकाले आयुर्वेद र योगको महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराई उनीहरुलाई योगाभ्यासमा सरिक गराउन शिक्षकहरुलाई तालिम दिइएको जनाएको छ । योग कक्षा विद्यार्थीहरुलाई नैतिक तथा आचरणवान बनाउन र मानसिक समस्या हटाउन समेत महत्वपूर्ण भएकाले सञ्चालनको तयारी गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए ।
प्रतिक्रिया