काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई ‘एचपीभी’ खोप अभियानको खोपदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले देशभरका १६ लाख किशोरीलाई मन्त्रालयले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिरहेको हो ।
यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले खोप लगाउँदैछ । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अर्ब्जभेटरीको तथ्याङ्कमा छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको तथ्याङ्क छ ।
प्रतिक्रिया