एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको मृत्यु भएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
मेला भइरहेको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य सरकारका तर्फबाट मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यही जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ । ६ साता लामो मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ ।
प्रतिक्रिया