ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

शनिबार १९, माघ २०८१ ०३:५४

बनियानी । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।  जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा १२२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । 

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउँछन् ।  जिल्लामा हाल हात्तीपाइले रोगीको सङ्ख्या करिब दुई हजार दुई सय रहेको उनले बताए । 

प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा।सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए । 

‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु दुई लाख उपलब्ध गराउने गरेको छ’, उनले भने । ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम  पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरु उपचार गराउन आउँदैनन्’, डा काफ्लेले भने । रासस
 

प्रतिक्रिया