ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जसको पहिलो गीत नै भएको थियो ‘हिट’

शनिबार ०८, मङि्सर २०८१ ११:१०

धनगढी । ०५६ सालको कुरा हो । कञ्चनपुरबाट बैतडीका लागि रात्रि बस छुट्यो । बसमा अन्य यात्रुसंगै सवार थिइन् ६० वर्षीया एक वृद्धा । डडेल्धुराको सीमा क्षेत्र पुग्दा हिमपात भएछ । राजमार्ग पनि अवरुद्ध भयो । 

बस बाटोमै रोकियो । सबै यात्रु नजिकको होटलतिर हानिए । ती वृद्ध महिला भने गाडीमै बसिन् । उनलाई बस चालकले तपाईंको कोही मान्छे छैन ? भनेर प्रश्न गरेछन् । उनले जवाफ दिँदै भनिन्, ‘अघि बसमा तपाईँले बजाउनुभएको गीतका गायक मेरै छोरो हो ।’

जवाफ सुनेपछि थाहा भयो, ती महिला गायक तिलकसिंह पेलाका आमा रहिछन् । अनि बसमा बजेको त्यो गीत थियो, ‘लुकाउन खोज्दा पनि...’ । पेलाको पहिलो एल्बम आँसुमा समावेश उक्त गीत उनले ०५३ सालमा बजारमा ल्याएका थिए । 

त्यसको तीन वर्ष अर्थात् ०५६ सालमा पनि त्यो गीतको क्रेज घटेको थिएन । तर, त्यो समयमा अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन । गाउँघरका टेप रेकर्डरकमा घन्किन्थे पेलाका गीत । ‘लुकाउन खोज्दा पनि...’ गीत समावेश क्यासेट सुदूरपश्चिममा मात्रै लगभग १५ हजार बिक्री भए । सोही एल्मबमा समेटिएको अर्को गीत ‘कहानी बनेन् केही यस्तै हो मेरो जिन्दगी’ पनि हिट बन्यो । जसलाई पेला आफ्नो पहिलो गीतका रुपमा चिनाउँछन् । 

ढाई दशक अगाडि सुदूरपश्चिमको कलाकारले आधुनिक गीत गाउँछ भन्दा साङगीतिक क्षेत्रका धेरै हस्तीसमेत मजाकको विषय बनाउँथे । सुदूरपश्चिममा उदाएका कलाकारले डेउडा गीतबाहेक अन्यमा छाप छोड्न सक्दैनन् भन्ने मानसिकता पनि थियो । सोही बेला भएको थियो आधुनिक संगीतमा पेलाको इन्ट्रि । उनले इन्ट्रि मात्रै गरेनन्, सुदूरपश्चिमको कलाकारले आधुनिक गीत गाउन सक्दैनन् भन्ने मानसिकता तोड्ने प्रण पनि लिए । 

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ मा जन्मेका पेलाको नाम त्यतिबेला नै सुदूरपश्चिमबाट आधुनिक एल्बम निकाल्ने पहिलो कलाकारको सूँचीमा दर्ज भयो । ०५३ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गीत रेकर्ड गराउन राजधानी काठमाडौँ पुगेका पेलालाई पहिलो एल्बमबाटै चर्चित बनायो । तर उनले दुई दशक बढी समय आफ्नो चर्चित आवाजलाई नै लुकाइदिए । लुकाउन खोज्दा पनि बोलको गीत गाएको २२ वर्षपछि नयाँ गीत र गजल रेकर्डिङका लागि पेला फेरि स्टुडियो छिरे । गजलकार सन्जय जुग्जालीको गजल ‘हरेक दिन साँझ फर्केर आउँछ’ गीत गाउन गायक पेला म्युजिक नेपालको स्टुडियोमा छिरेका थिए । 

तर २२ वर्षसम्म उनी संगीतबाट टाढा भने थिएनन् । संगीत साधनाको मार्गमा उनी व्यस्त थिए । पेलाले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला स्थापना गरी संगीत शिक्षाको ज्योति छरिरेहे । काठमाडौँमा संगीत विधामा ‘सङ्गीत प्रवीण’ तह र भारतको इलाहावादस्थित प्रयाग संगीत महाविद्यालयबाट ‘आचार्य’को उपाधि प्राप्त गरेका गायक तथा संगीतकार पेलालाई साङगीतिक क्षेत्रमा लाग्ने जागर र जोस् भने जन्मथलो बैतडीमा हुने रामलिलाबाट प्राप्त भएको थियो । 

ढाई दशक अगाडि पहिलो एल्बमकै गीतबाट हिट भएका पेला पछिल्लोसमय ‘के लत् बस्यो...’ गजल गीतबाट फेरि चर्चाको शिखरमा पुगेका थिए । लोक, पप, ¥याप र आधुनिक गीतले नेपाली संगीत क्षेत्रमा वर्चश्व जमाइरहेका बेला गजल भाइरल भएपछि खुसी थिए । ‘म धेरै मिडियामा आउने मान्छे त होइन,’ उनले भने, ‘तर त्यो गजल गीतले मलाई पनि निकै व्यस्त बनाइदिएको थियो ।’

के लत् बस्यो...गजल गीत कमल बिष्ट (पेलाका शिष्य)को स्वरमा बजारमा ल्याउने योजना थियो । ‘तर डाक्टर साप (गजलकार प्रदीप मैनाली)ले मलाई नै गाउन आग्रह गर्नुभयो । मैले नकार्न सकिन्,’ पेलाले भने । 

के लत् बस्यो. गाएको दुई वर्षपछि पेला फेरि स्टुडियो फर्केका छन् । एक महिनाभित्रै गजल गीत बजारमा ल्याउने तयारीमा छन् उनी । 
 

प्रतिक्रिया