धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको दिनको पहिलो खेलमा डडेल्धुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोस्टनले खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा नौ विकेट गुमाएर ६६ रन मात्र जोड्यो । बोस्टनका लागि सनम बुढाथोकीले सर्वाधिक १७ रन जोडे । दिपु भुजेलले १५ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
डडेल्धुराका लागि कुशल भुर्तेलले ४, अजय चौहानले २ तथा आवाज गौतम, कप्तान सन्दीप, रवि बिष्टले समान १ विकेट लिए । त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डडेल्धुराले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार गरेको थियो ।
डडेल्धुराका लागि नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान सन्दीप जोराले ३० बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५१ रनमा आउट भए । किरण ठगुन्नाले १० बलमा १ चौका र २ छक्को सहयोगमा नट आउट २१ रन जोडे । विनोद भण्डारी ५ तथा कुशल भुर्तेल २ रनमा आउट भए ।
बोस्टनका लागि अरुण ऐरीले २ तथा पवन कार्कीले १ विकेट लिए ।
प्रतिक्रिया