ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
१० शय्यामा सीमित

विशेषज्ञ सेवाविहीन प्रादेशिक आयुर्वेदिक चिकित्सालय

शुक्रबार २५, माघ २०८१ ०७:३७

धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा विशेषज्ञ सेवा सुरु हुन सकेको छैन । दुई वर्षअघि सञ्चालनमा आएको चिकित्सालयले विशेषज्ञ चिकित्सक नहुँदा विशेषज्ञ सेवा दिन नसकेको हो । संघीय सरकारले ३२ करोड लगानीमा निर्माण गरेको भवनमा प्रदेश सरकारले ५० शय्याको चिकित्सालय सञ्चालनमा ल्याएको छ । तर, जनशक्ति नभएपछि चिकित्सालय अहिले १० शय्यामा मात्र सञ्चालन छ ।

चिकित्सालयका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. रामकामेश्वर ठाकुरले विशेषज्ञ जनशक्तिको अभावमा सामान्य बाहेकका सेवा दिन नसकेको बताए । ‘अहिले सामान्य सेवा दिइरहेका छौं,’ उनले भने, ‘विशेषज्ञ जनशक्ति नहुँदा विशेषज्ञ सेवा दिन सकेका छैनौं । सेवा विस्तार गर्न प्रदेश सरकारसंग थप जनशक्ति माग गरेका छौँ ।’

५० शय्याको चिकित्सालय सञ्चालन गर्न ११औँ तहको एक जना निर्देशक, छ जना कन्सलटेन्ट चिकित्सक, नौ जना चिकित्सकसहित एक सय १४ जनाको दरबन्दी माग गरिएको ठाकुरले जानकारी दिए । चिकित्सालयमा हाल २१ जना कर्मचारी मात्र कार्यरत छन् ।

चिकित्सालय सुरु गर्दा एक जना मेडिकल सुपरीटेण्डेन्ट, एक जना कन्सलटेन्स, चार जना चिकित्सकसहित २७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको थियो । त्यसमध्ये कन्सलटेन्सको दरबन्दी रिक्त छ । त्यस्तै चारमध्ये एक जना चिकित्सक छैनन् । ‘स्वीकृत अस्थायी दरबन्दी संख्या नै कम हो, त्यसमा पनि छ जना चिकित्सकीय जनशक्ति रिक्त छ,’ मेसु ठाकुरले भने, ‘कुल एक सय १४ जनाको जनशक्ति माग गरेका छौं । प्रदेश सरकारले मागअनुसार जनशक्ति थप गरे धेरैजसो विशेषज्ञ सेवा यहीँ उपलब्ध हुनेछन् ।’

यो सुदूरपश्चिम प्रदेशको एकमात्र ठुलो आयुर्वेदिक चिकित्सालय हो । चिकित्सालयमा जनशक्ति र साधनस्रोतको अभावका कारण नागरिकले आयुर्वेदिक पद्दतिबाट विशेषज्ञ उपचार सेवा पाउन सकेका छैनन् । चिकित्सालयको सेवा प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यानजान सकेको छैन ।

चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले जनशक्तिका लागि पटकपटक पहल गरे पनि प्रदेश सरकारबाट सुनुवाइ नभएको बताए । चिकित्सालयमा विज्ञ चिकित्सक र उपकरणको अभावले सेवा प्रभावकारी हुन नसकेको उनले बताए । ‘५० शय्याका लागि चाहिने जनशक्ति छैन, व्यवस्थापन समितिबाट पटकपटक पहल ग¥यौँ तर सुनुवाइ भएन,’ उनले भने, ‘प्रदेशले जनशक्ति थप गरिदिए नागरिकले सेवा पाउँथे ।’

विशेषज्ञ सेवा नहुनु र प्रचारप्रसारको अभावले चिकित्सालयबाट सेवा लिने सेवाग्राहीको संख्या पनि उल्लेख्य रुपमा बढ्न सकेको छैन । धनगढीका सरकारी र निजी अस्पताल तथा क्लिनिकहरुमा बिरामीको चाप थेगिनसक्नु भीड हुँदा प्राकृतिक पद्दतिबाट निशुल्क र सस्तोमा उपचार हुने चिकित्सालय पुग्ने सेवाग्राही भने न्यून छन् । चिकित्सालयबाट गतवर्ष सेवाग्राहीले दोहो¥याएर समेत गरी करिब २६ हजार पटक सेवा लिएको तथ्यांक छ । 

मेसु ठाकुरका अनुसार पञ्चकर्म, पूर्वकर्म, थेरापी, जलौका कर्म, क्षारसुत्र, कटीबस्ती, जानुबस्ती सम्बन्धि सामान्य सेवाहरु चिकित्सालयमा उपलब्ध छन् । आयुर्वेदिक पद्दतिबाट उपचार प्रभावकारी मानिने पायल्स, फिस्टुला, फिसरको उपचार सेवा पनि दिइरहेको उनले बताए ।

एक्सरे, भिडियो एक्सरे, इसीजीसहितको प्रयोगशाला सेवा चिकित्सालयमा छ । चिकित्सालयमा आधारभूत सेवा र कतिपय औषधि निशुल्क छन् । प्रयोगशाला शुल्क पनि तुलनात्मक रुपमा सस्तो छ । 

यता, प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले प्रादेशिक आयुर्वेदिक चिकित्सालयको कर्मचारी संगठन संरचना स्वीकृतिको प्रकृया अगाडि बढेको बताएका छन् । ‘त्यो स्वीकृत भएपछि कर्मचारी पदपूर्ति कार्य अगाडि बढ्छ,’ उनले भने ।

चिसिकत्सालयले जनशक्ति अभावले विशेषज्ञ सेवा दिन नसके पनि उपलब्ध सेवा भने सार्वजनिक बिदाको दिनसमेत दिने गरेको छ । शनिबारसहित सार्वजनिक बिदाको दिन नागरिकले बिहान १० देखि दिउँसो १ बजेसम्म चिकित्सालयमा उपचार सेवा पाउँछन् । मेसु ठाकुरले नियमित गर्नुपर्ने कतिपय उपचार एक दिन छुट्दा पनि बिरामीलाई असर पर्ने भएकाले सेवा अटुट राख्ने व्यवस्था गरिएको बताए । टाढाबाट आउने बिरामीलाई सहज होस् भनेर पनि बिदाको दिनसमेत सेवा दिने गरिएको उनले बताए । 

‘कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ । बिदाको दिन उपचार नपाउने अवस्था नहोस् र बिरामीले दुख नपाउन भनेर सेवा अटुट राखेका हौं,’ ठाकुरले भने, ‘टाढाबाट आएका बिरामी बिदा पर्दा कुरेर बस्नु नपरोस् भन्ने पनि हो ।’ सार्वजनिक बिदाको दिन पालो मिलाएर कर्मचारीले सेवा दिने गरेका छन् ।

प्रतिक्रिया