धनगढी । कैलालीको धनगढीस्थित जोशी मेडिकलका सञ्चालक डा. शिवदत्त जोशीको निधन भएको छ । उनको शुक्रबार ९३ वर्षको उमेरमा निधन भएको हो । जोशीको बिहान साढे ७ बजेको धनगढीको मटियारीस्थित घरमा निधन भएको हो ।
जोशीको वि.स.१९८८ साल मंसिर २३ गते बैतडीको शेरामा उनको जन्म भएको थियो । भारतको पिथौरागढबाट पाँच कक्षा पास भएपछि उनी पढ्नका लागि हरीद्धार पुगेका थिए । त्यहाँ जोशीले सात कक्षा पढेका थिए । सात कक्षा हरिद्धारबाट पास गरेपछि उनी बनारस पुगे । जहाँ उनले १० कक्षा पास गरे । त्यहीँबाट उनले शास्त्री पास गरेका थिए ।
०१० सालमा काठमाडौं पुगेका उनले त्यहाँ पुगेको केही समयमा निर्वाचन आयोगमा निर्वाचन अधिकृतको जागीर पाए । सिंहदरवारभित्र रहेको निर्वाचन आयोगमा उनले दुई वर्ष जागीर गरेका थिए । जागिरबाट सन्तुष्ट नभएका उनी चार वर्षे आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी(एएमबीएस) पढाई गर्न भारतको झाँसी पुगेका थिए ।
०१६ मा पढाई सकेर कविराज भएर उनी काठमाडौं फर्किएका थिए । त्यस लगत्तै उनले जागीर पाए र उनलाई धनगढी खटाइयो । जोशीले आजभन्दा ५७ वर्षअघि ०२४ सालमा सरकारी जागीर छोडेर जोशी मेडिकल खोलेका थिए । सोही मेडिकलबाट उनले जोशी डाक्टरको पहिचान बनाएका थिए ।
प्रतिक्रिया