धनगढी । एकीकृत समाजवादीका सांसद प्रेम आलेले सडक निर्माणका लागि बजेट व्यवस्थापनमा आफूले दौडधुप गरे पनि जस अर्कैले लिन खोजेको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटीया–दीपायल–चैनपुर–उरै सडकका लागि आफ्नो एकल प्रयासबाट बजेट विनियोजन भएको बताए । त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई पटकपटक भेटेर बजेट सुनिश्चित गरेको उनको भनाई थियो ।
‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई पटकपटक भेटेपछि मेरो एकल प्रयासले २०८१–२०८२ को बजेटमा ४३ करोड विनियोजन गरिएको हो, ’ उनले भने, ‘ म डोटी जिल्लाको जल्दोबल्दो सांसद भएको हैसियतले पटकपटक भेटेर यो बजेटको व्यवस्था भएको हो । त्यसलाई अहिलेको अर्थमन्त्री विष्णु पौडेलले बहुवर्षीय प्रक्रिया अगाडि बढाउनका लागि गरेको सहयोगप्रति पनि धन्यवाद भन्न चाहन्छु । सामाजिक सञ्जालमा वडा सदस्यदेखि प्रदेशसभा सदस्यहरूले मैले गरेँ भनेर भित्ता रंगाए । यसमा पनि ध्यानाकर्षण भएको छ ।’
प्रतिक्रिया