धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सांसदहरूलाई ल्यापटप वितरण गर्ने भएको छ। प्रदेशसभाले सरकारी ढुुकुटीबाट ४७ लाख बढी विनियोजन गरेर ४३ वटा ल्यापटप खरिद गर्न लागेको हो ।
५३ जना प्रदेशसभा सदस्यमध्ये १० जना मन्त्री र प्रदेशसभा पदाधिकारी भएकाले ४३ जनाका लागि ल्यापटप खरिदको योजना बनाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । एउटा ल्यापटममा एक लाख बढी खर्च गर्ने प्रदेशसभाको योजना छ । प्रदेशसभा सचिवालयले खरिद प्रकृया पनि सुरु गरिसकेको छ ।
सरकारी ढुकुटी २७ लाख बढी खर्च गरेर सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकालका ४६ जना सांसदहरुका लागि खरिद गरिएका ल्यापटप गोदाममा थन्काइएको अवस्थामा फेरि अहिलेका प्रदेश सांसदहरुलाई पनि ल्यापटप खरिद गर्न लागिएको छ । यसअघि खरिद गरिएका ल्यापटप पुनः प्रयोगको अवस्थाबारे प्रदेशसभा सचिवालय नै अनभिज्ञ छ ।
‘ती ल्यापटप गोदाममा थन्काइएका छन् । एकपटक चलाइसकेका ल्यापटप फेरि के चलाउनुु भन्ने पनि होला,’ प्रदेशसभा सचिवालयका एक अधिकृतले भने । सत्तारुढ एमाले सांसद धर्मराज पाठक ल्यापटप दिने कुरा गलत नभएको बताउँछन् । ‘अहिलेको प्रविधिको युुगमा नीति निर्माताहरुलाई ल्यापटप दिने कुरा गलत होइन । बरु त्यसको सदुुपयोग हुुनु पर्यो,’ पाठकले भने ।
प्रमुख प्रतिपक्षी दलका सांसद शिवसिंह ओलीले सांसदहरुलाई ल्यापटप दिने कुरा गलत नभए पनि सरकारी सम्पतिप्रति अपनत्व राख्नुु महत्वूर्ण हुने बताए । ‘तीन चार वर्षमै ल्यापटप कवाड हुने कुरा लापरबाही हो । त्यसो गर्नुु भएन,’ उनले भने ।
०७६ साल भदौमा २७ लाख ररुपैयाँभन्दा बढी खर्च गरेर प्रदेशसभा सदस्यका लागि ४६ थान ल्यापटप खरिद गरिएको थियो । त्यसबेला सत्तापक्षकै केही सांसदहरुले सरकारी ढुुकुटी खर्चेर ल्यापटप लिन नहुने तर्क गरेका थिए भने केहीले ल्यापटप लिनु अन्यथा नहुने जिकिर गरेका थिए ।
प्रतिपक्षी दलका सांसदहरुले त ल्यापटप लिन नहुने ‘लविङ’ गरेका थिए । तर पछि उनीहरुले ल्यापटप लिए । तर प्रदेशसभाले त्यसबेला प्रदेशसभा सदस्यहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताएको थियो ।
प्रतिक्रिया