धनगढी । धनगढीमा प्रहरीले शनिबार सांस्कृतिक साँझ मनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी परिसरमा रहेको प्रहरी बहुउद्देश्यीय हलमा सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिएको हो ।
उक्त सांस्कृतिक कार्यक्रममा जनचेतनामूलक गायक सुशील गन्धर्व समेतका लोक बाजाका अभियन्ताहरुले आफ्नो प्रस्तुति राखेका थिए । प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र नेपाल प्रहरी स्कुल धनगढीका सहभागीहरुद्वारा पनि विभिन्न लोकगीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सांस्कृतिक साँझ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले २४सै घण्टा शान्तिसुरक्षा तथा अमनचयन कायम राख्ने मुलभूत जिम्मेवारी बोकेको प्रहरी संगठनका सदस्यहरुमा कार्यबोझसँगै विभिन्न कारणले उत्पन्न हुने तनाव व्यवस्थापन गरी मानसिक तथा शारीरिक क्षमतालाई अझ विकास गर्दै कार्यक्षमतामा निखार ल्याउन नियमित रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए ।
साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी गण, प्रदेश प्रहरी अस्पताल शाखा र नेपाल प्रहरी स्कुल धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरु गरी ३०० जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया