धनगढी । देशभर नै क्रिकेटको माहोल सुस्ताएको थियो । क्रिकेट संघ थिएन भन्दा पनि हुन्थ्यो । काठमाडौंमै क्रिकेटका गतिविधि नभएपछि मोफसलमा हुने कुरै थिएन । त्यहिँ सुस्ताएको माहोलमा डेढ दशकअघि सन् २०६६ सालमा सुरु भयो एसपीए कप । कलेज लेभलको एसपीए कपमा काठमाडौं र नेपालगञ्जका दुइसहित १२ वटा कलेजका टिम थिए ।
त्यो बेला पहिलो हुनेलाई २५ हजार र दोस्रोलाई १० हजार पुरस्कार थियो । तर, सोही प्रतियोगिता पछि देशकै सर्वाधिक पुरस्कार राशीको बन्यो । २०७१ सालमा आइपुग्दा एसपीए कपका विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाए । धनगढीमा भएको एसपीए कपले क्रिकेटको माहोल नै फेरिदियो । देशभरमा सबैभन्दा बढी क्रिकेटमय वातावरण भएको ठाउँ बन्यो धनगढी ।
एसपीए कपसंगै आयोजना भइरहेको थियो धनगढी क्रिकेट लिग । लिगमा सहभागीताका लागि कैलालीका पाँच ठाउँलाई टिमका रुपमा नामाकरण गरियो । टिमका मालिक खोजियो र ०७२ पुस १३ गते नेपाली क्रिकेटमा नयाँ अध्याय लेखियो । त्यो दिन नेपालमै पहिलोपटक अक्सनका माध्यमयबाट टिमहरुले खेलाडी अनुबन्ध गरेका थिए । त्यो नै नेपालमा व्यवसायिक क्रिकेटको सुरुवात थियो । अक्सनमा सबैभन्दा महंगा खेलाडी भएका थिए, राजु रिजाल । त्यो समयमा उनी नेपालको यू–१९ क्रिकेट टिमका कप्तान थिए । रिजाललाई ४० हजारमा सन्तोषीटोल टिमले खरिद गरेको थियो । पहिलोपटक अक्सनमार्फत खेलाडी अनुबन्ध गरेर ०७२ सालमा धनगढी क्रिकेट लिग सम्पन्न भयो ।
त्यसको एक वर्षपछि नेपाल क्रिकेट संघलाई आइसीसीले निलम्बन गर्यो । देशभर क्रिकेटका गतिविधि सुन्य जस्तै भए । तर धनगढीमा भने क्रिकेटको माहोल झन तात्न थाल्यो । कारण थियो, एसपीए कप र धनगढी क्रिकेट लिग हेरेका दर्शक अब फ्रेन्चाइज क्रिकेको स्वाद लिने तयारीमा थिए । धनगढी क्रिकेट लिग र एसपीए कपलाई मर्ज गरेर धनगढी प्रिमियर लिग सुरुवात भयो । लिगमा सहभागी थिए, कञ्चनपुर आइकोनिक, सिवाइसी अत्तरिया, टिम चौराह धनगढी, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन र विराटनगर किङ्स ।
पहिलो संस्करणकै विजेताले १५ लाख पायो । शाही नेतृत्वको टिमले डीपीएलको तीन संस्करण सफलतापूर्वक आयोजना गर्यो । एउटै संस्करण आयोजना गर्न तीन करोडसम्म खर्च भयो । चौथो सस्करणका लागि दुई–दुई पटक मिति तोकियो । तर, कोरोना भाइरसको संक्रमणका कारण सफल हुन सकेन । त्यसपछि फ्रेन्चाइज क्रिकेट क्यानले नै आयोजना गर्ने तयारी गर्यो र पहिलो संस्करणको नेपाल प्रिमियर लिग सम्पन्न भएको छ ।
यी सबै क्रिकेटका गतिविधि र प्रतियोगिताका परिकल्पनाकार हुन्, सुवास शाही । उनकै अगुवाइमा सञ्चालन भएका थिए, एसपी कपदेखि धनगढी प्रिमियर लिगसम्म । अक्सनको सुरुवातकर्ता पनि शाही नै थिए । शाही सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रवन्ध निर्देशक हुन् । धनगढी क्रिकेट एकेडेमी र गो ड्रिमर्सका अध्यक्ष पनि हुन् । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षको जिम्मेवारीमा छन् शाही।
उनै शाहीको नेतृत्वमा फेरि पनि नेपालमा क्रिकेटको नयाँ अध्याय लेखिएको छ । १९ माघदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको अर्जुन ट्रफीमार्फत नयाँ अध्याय लेखिएको हो । यो प्रतियोगितालाई क्लब क्रिकेटमा नयाँ सुरुवातको रुपमा हेरिएको छ ।
प्रतियोगितामा सहभागी न्यू होराइजन बुटवलका प्रशिक्षक शक्ति गौचन भन्छन्, ‘नयाँ खेलाडीका लागि अर्जुन ट्रफी नेपाल प्रिमियर लिगभन्दा पनि ठुलो अवसर बनेको छ ।’ उनले अर्जुन ट्रफीले क्रिकेटको विकाससंगै धनगढीमा विद्यमान क्रिकेटको कल्चरलाई झल्काएको बताए । ‘धेरै पहिले धनगढी आएर हामीले एसपीए कप खेलेका थियौं,’ नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्यसमेत रहेका गौचनले भने, ‘त्यो भव्य प्रतियोगिता थियो । धेरैपछि धनगढीमा क्रिकेटको त्यस्तै माहोल देखिएको छ ।’ गौचनले क्रिकेटको विकासमा निस्वार्थ जीवन समर्पण गरेका अर्जुन खड्काको नामबाट प्रतियोगिता आयोजना हुनु निकै गौरवको विषय भएको बताए ।
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका आठ क्लब सहभागी छन् । काठमाडौं, झापा, बुटवल, धनगढी, अत्तरिया, डडेल्धुरा, सुख्खड र बैतडीका क्लब प्रतियोगितामा सहभागी भए । आयोजक गो ड्रिमर्सका अध्यक्ष शाही अर्जुन ट्रफीलाई नयाँ सुरुवातको रुपमा लिएको बताउँछन् । ‘अर्जुन ट्रफी एउटा नौलो अभ्यास पनि हो,’ उनले भने, ‘लामोसमयदेखि क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता भएका थिएनन् । यसले नयाँ थालनी पनि गरेको छ । खेल हेर्नका लागि टिकट काटेरै दर्शकहरुले साथ दिएपछि प्रतियोगितालाई उत्साहजनक बनायो । दर्शकको साथले हामीलाई पनि उत्साहित बनाएको छ ।’
शाहीका अनुसार अर्जुन ट्रफीलाई आयोजकले मात्रै नभएर सिंगो धनगढीले नै अपनत्व गरिदिएको छ । ‘यहाँका क्रिकेट समर्थक निकै सहयोगी छन्,’ उनले भने, ‘क्राउडले पनि प्रतियोगिताको अपनत्व ग्रहण गरिदिन्छ । सोही कारण हामी सफल पनि भएका छौं ।’
प्रतियोगितामा सबै स्तरका खेलाडीको सहभागिता सुनिश्चित गर्नका लागि खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको थियो । सहभागी टोलीमा ‘ए’ श्रेणीमा चार, ‘बी’ श्रेणीमा पाँच र बाँकी पाँच जना ‘सी’ श्रेणीका खेलाडी समावेश गर्नपर्ने नियम बनाइएको थियो । ‘ए’ श्रेणीमा नेपाली राष्ट्रिय टाेलीका खेलाडीलाई राखिएको थियो भने ‘बी’ श्रेणीमा नेपाली राष्ट्रिय टिम–ए, यू–१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडीलाई राखिएको थियो । ‘सी’ श्रेणीमा यू– १६ नेपाली राष्ट्रिय टोलीका सदस्यसंगै प्रदेशका यू–१९ र यू–१६ का खेलाडी र अन्य खेलाडीलाई राखिएको थियो ।
खेलाडीलाई फरकफरक श्रेणीमा विभाजन गरेर टोली बनाउँदा अर्जुन ट्रफी नयाँ खेलाडीका लागि पनि निकै महत्वपूर्ण सावित भएको शाही बताउँछन् । ‘फ्रेन्चाइज क्रिकेटमा कमै युवा प्रतिभाले अवसर पाउँछन्,’ शाहीले भने, ‘अर्जुन ट्रफीमा भने थुप्रै नयाँ खेलाडीले अवसर पाए । त्यसमा पनि सुदूरपश्चिमका युवा प्रतिभाले झनै मौका पाए ।’
अर्जुन ट्रफीलाई नेपाल क्रिकेट संघ क्यानले वार्षिक क्यालेन्डरमा समावेश गरेको बताउँदै शाहीले पहिलो संस्करणमा कुनै कमजोरी नहुने किसिमले प्रतियोगिता आयोजना गरिएको बताए । ‘प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने भएर नै क्यानले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गरेको हो,’ उनले भने, ‘अर्जुन ट्रफीले निरन्तरता पाउँछ ।’
अर्जुन ट्रफीमार्फत निस्वार्थ रुपमा काम गर्ने व्यक्तिलाई स्थापित गर्ने संस्कृतिको पनि विकास भएको शाही बताउँछन् । ‘अर्जुन खड्का (क्रिकेटका स्वर्गीय प्रशिक्षक) धनगढी र सुदूरपश्चिममा क्रिकेट विकासका सारथी हुनुहुन्थ्यो,’ शाहीले भने, ‘उहाँले क्रिकेटमै जीवन बिताउनुभयो । निस्वार्थ रुपमा काम गर्नुभयो । त्यसैले उहाँको सम्मानका लागि उहाँकै नामबाट प्रतियोगिता आयोजना गरेका हौं । यसले उहाँलाई अमर बनायो ।’
अर्जुन ट्रफीको फाइनल सोमबार हुँदै छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले ५०–५० हजार पाउनेछन् ।
यद्यपी क्रिकेट विकासका अगुवा शाहीको उद्येश्य भने एसपीए कप, धनगढी क्रिकेट लिग, धनगढी प्रियिमर लिग र अर्जुन ट्रफी आयोजना गर्नु मात्रै होइन । उनी भन्छन्, ‘फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने मेघा प्रोजेक्ट नै हो । मैले त्यो योजनालाई मुख्य प्राथमिकतामा राखेको छु । फाप्लामा अन्तराष्ट्रिय रंगशाला बनाएर अन्तराष्ट्रिय प्रतियोगिता गर्ने हाम्रो योजना हो । फाप्लामा एकदिन विश्वकप आयोजना गरेर मात्रै हाम्रो यात्रा टुंगिन्छ ।’
प्रतिक्रिया