धनगढी । दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो । जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो । उनीमाथि पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलारम पाण्डेका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन् । ‘एका बिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘सोही समयदेखि ती किशोरी बेपत्ता भएको परिवारका सदस्यले बताउँदै आएका छन् ।’
सोही दिन दिउँसो हवल्दार जोशीलाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । किशोरी बेपत्ता भएको चार दिनपछि उनका बुवाले किटानी जाहेरी दिएको प्रहरी निरीक्षक पाण्डेको भनाई छ । ‘अनुसन्धानका लागि प्रहरी हवल्दार जोशीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘अहिले हवल्दार जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।’
प्रहरी निरीक्षक पाण्डेका अनुसार किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् । यता हवल्दार जोशीले भने किशोरीलाई बेपत्ता आफूँले नपारेको बयान दिएका छन् । ‘२५ गते बिहान पानी ल्याउन जाँदा ती किशोरीसंग मेरो भेट भएको थियो,’ प्रहरी निरीक्षक पाण्डेका अनुसार हवल्दार जोशीले प्रहरीको सोधपुछका क्रममा भनेका छन्, ‘ती किशोरीले आफूँहरुको सम्बन्धका विषयमा परिवारलाई जानकारी भइसकेको र सोही कारणले तनाब भएको बताएकी थिइन् । मैले आफूँ विवाहित भएको र व्यवस्थापन गर्न केही दिन समय लाग्ने बताएको थिए । त्यसपछि ती किशोरी पानी ल्याउन गएकी हुन् । मेरो भेट भएको छैन ।’
किशोरी बेपत्ता भएको सोमबार ४६ दिन बितेको छ । तर, अहिलेसम्म उनलाई सम्पर्कमा ल्याउन नसकिएको बैतडी प्रहरीले जनाएको छ । ‘हामीले पञ्चेश्वर गाउँपालिका र आसपासका क्षेत्रमा खोजी गरेका छौं,’ इन्सपेक्टर पाण्डेले भने, ‘भारततर्फ पनि खोजी गरिएको थियो । तर, अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।’
डिम्बरमा बस्दैनन् प्रहरी
डिम्बरमा रहेको महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरीलाई भने कुलाउ सारिएको छ । स्थानीय बासिन्दाले प्रहरीबाटै असुरक्षा भएको भन्दै महाकाली प्रहरी चौकी सार्न माग गरेपछि डिम्बरका प्रहरी वडा नम्बर ३ को कुलाउ बस्न थालेका हुन् ।
जिल्ला सुरक्षा समितिले केही समयका लागि महाकाली प्रहरी चौकी डिम्बरलाई कुलाउमा राख्नका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लिखित अनुरोध गरेको थियो ।
दुबै कार्यालयबाट सहमति प्राप्त भएपछि महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी कुलाउन बस्न थालेका इन्सपेक्टर पाण्डेले बताए ।
प्रतिक्रिया