ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका एथलेटिक्स, कुस्ती र बुद्धिचालका खेलाडी छनोट

बुधबार ३०, माघ २०८१ ०६:१०

धनगढी । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका छन् । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका खेलपछि एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरु छनोट भएका हुन् । यसअघि नै जुडो र भारात्तोलन खेलका खेलाडीहरु छनोट भइसकेका छन् । 

तीन वटै खेलहरुबाट दशौं राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् । एथलटिक्समा पुरुषतर्फ पाँच हजार मिटर दौड, १५ सय मिटर दौड र चार सय मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् । यस्तै ज्याभलिङ थ्रो, हाइजम्प र लङजम्पमा पनि नौ जना खेलाडी छनोट भएका छन् ।

चार गुणा सय मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् । एथलेटिक्स महिलातर्फ पनि पाँ हजार मिटर दौड, १५ सय मिटर दौड र चार सय मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् । यस्तै ज्याभलिङ थ्रो, हाई जम्प र लङ जम्पमा पनि ९ जना खेलाडी छनोट भएका छन् । चार सय गुणा सय मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् ।

कुस्ती पुरुषतर्फ पनि विभिन्न तौल समुहमा नौ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समूहदेखि एक सय २५ किलो तौल समूहमा खेलाडीहरु छानिएका हुन् । छनोट भएका खेलाडीहरुमा सबैभन्दा बढी छ जना कञ्चनपुरका रहेका छन् भने दुई जना कैलाली र एक जना दार्चुलाका रहेका छन् । 

कुस्ती महिलातर्फ पनि १० जना खेलाडी छनोट भएका छन् । ५० किलो तौल समुहदेखि ७६ किलो तौल समूहका खेलाडीहरु छानिएका हुन् । त्यसमा आठ जना खेलाडी कञ्चनपुरका रहेका छन् भने एक–एक जना दार्चुला र डडेल्धुराका रहेका छन् । 

बुद्धिचालमा पनि महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् । त्यसमा पाँच जना पुरुष र पाँच जना महिला खेलाडी रहेका छन् । पुरुषतर्फ कैलालीका दुई जना र बझाङ, डोटी र कञ्चनपुरका एक–एक जना खेलाडी छनोट भएका छन् । महिलातर्फ पनि पाँच जना खेलाडीहरुमा दुई जना कञ्चनपुरका र कैलाली, डोटी र दार्चुलाका एक–एक खेलाडी छानिएका छन् । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए । 

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा भइरहेका छन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु भईरहेछन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरु भईरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेको छ ।
 

प्रतिक्रिया