ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पदमसिंह परियार : गाउँका डाक्टर

शनिबार ०३, फागुन २०८१ ०९:१३

धनगढी । निम्न बर्गीय परिवारमा जन्म । बाल्यकालदेखि नै सबै खाले दुखको सामना पर्नुपर्ने बाध्यता नै हुन्छ । भारतमा चौकीदारी गरेर पनि अछामको मंगलसेन नगरपालिका– ८ ओली गाउँका मानसिंह परियारले छ छोराछोरीको लालनपालन गरे ।

मानसिंहका जेठा छोरा पदमसिंह भने पढ्नमा पनि अब्बल थिए । सानैदेखि स्वास्थ्य विज्ञानमा रुची राख्थे उनी । स्वास्थ्यकर्मी बनेर सेवा गर्ने लक्ष्य नै थियो पदमसिंहको । परिवारमा कोही बिरामी हुँदा उपचार पाउनै समस्या हुने परिस्थितिका कारण पदमसिंहले स्वास्थ्यकर्मी बन्ने लक्ष्य राखेका थिए ।

०५१ सालमा स्वास्थ्य तालिम केन्द्र धनगढीले सरकारी कोटाबाट अहेब अध्ययनका लागि आवेदन माग्यो । पदमसिंहलाई उक्त मौकालाई अवसरमा परिणत गर्नु थियो । उनले अहेब पढ्नका लागि आवेदन दिए । छात्रवृत्तिमा अहेब अध्यापनका लागि कैलाली जिल्लामा चार जना माग गरिएको थियो । परियारले एक नम्बरमा नाम निकाले । अध्ययनसंगै उनी अध्यापन पनि गर्थे । परियारले दुई वर्ष ऐश्वर्य विद्या निकेतन धनगढीमा पढाएका पनि थिए । 

१५ महिने अहेबको पढाईँ सकिएपछि भने परियारले सरकारी जागिरे भएर सेवा गर्ने योजना बनाए । २०५३ सालमा अहेबमै स्थायी नियुक्ति पाए । ०५३ सालदेखि ०६१ सालसम्म कैलालीको कैलारी गाउँपालिकाको गदरीया उपस्वास्थ्य चौकीमा काम गरे । ०६१ सालमा उनको सरुवा भयो, अति बिकट बाजुरा जिल्लामा । आटीचौर स्वास्थ्य चौकीको प्रमुख भएर ०६६ सालसम्म कार्यरत परियारलाई त्यहाँ सबैले डाक्टर भनेरै सम्बोधन गर्थे ।

उक्त स्वास्थ्य चौकीमा एक्ला स्वास्थ्यकर्मी थिए परियार । ‘नर्सीङ स्टाफ पनि थिएनन्, दुई जना सहयोगी र एक जना खोप लगाउने कर्मचारी मात्रै थिए,’ परियार सम्झिन्छन्, ‘सामान्य उपचारदेखि प्रसुती सेवा पनि आफैले दिनुपर्ने बाध्यता थियो । त्यो क्षेत्रका बासिन्दाका लागि डाक्टर मै थिए ।’ 

परियारका अनुसार सो समयमा आटीचौर स्वास्थ्य चौकीमा जंगली जनावरको आक्रमणबाट घाइते भएकाहरु धेरै पुग्थे । ‘त्यो समयमा अहिलेको जस्तो धेरै विकल्प पनि थिएनन्,’ उनी भन्छन्, ‘स्वास्थ्य चौकीमा उपचार सम्भव नभए तत्काल अन्यत्र लैजानका लागि न यातायातको सुविधा थियो न त स्थानीय बासिन्दाको आर्थिक अवस्था नै बलियो हुन्थ्यो । त्यसैले सबैखाले बिरामीको उपचार स्वास्थ्य चौकीमै गर्नुपर्ने बाध्यता थियो ।’
 
पाँच वर्ष बाजुरामा कार्यरत भएपछि परियारको सरुवा फेरि कैलाली भयो । ०६६ सालदेखि उनी जानकी गाउँपालिकाको दुगौली स्वाथ्य चौकीमा कार्यरत छन् । उक्त स्वास्थ्य चौकीको इञ्चार्जको जिम्मेवारी पनि सिनियर अहेव अधिकृत परियारकै हो । त्यहाँ अहिले गाउँपालिकाले एमबीबीएस डाक्टर पनि राखेको छ । ‘अहिले त दुर्गौली स्वास्थ्य चौकीबाट पनि बिरामीले स्तरीय उपचार सेवा पाउन थालेका छन्,’ उनी भन्छन्, ‘गाउँपालिकाले एमबीबीएस डाक्टर पनि राखिदिएको छ । यहाँ उपचार सम्भव नभए टीकापुर अस्पतालमा रेफर गर्छाैं ।’

२८ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका परियार कैलालीमा पटकपटक उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा पुरस्कृत भइसकेका छन् । ५३ वर्षीय परियार भन्छन्, ‘ ०५५ सालमा दुरशिक्षा रेडियो कार्यक्रममा कैलाली जिल्लाबाट उत्कृष्ट स्वास्थ्यकर्मीको पुरस्कार पाएको थिए । त्यो समयमा पुरस्कारबापत सोनी टेप रेकर्डर जितेको थिए ।’

स्वास्थ्य कार्यालयको मूल्यांकनमा परियार आर्थिक वर्ष ०७०/०८० मा जिल्लामै उत्कृष्ट स्वास्थ्यकर्मी भएका थिए । जानकी गाउँपालिकाले पनि उनलाई स्वास्थ्य सेवामा अनवरत सेवा दिएको भन्दै उत्कृष्ट स्वास्थ्यकर्मीको पुरस्कार दिएको छ । 

जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक जितबहादुर चौधरी सिनियर अहेब अधिकृत परियार गाउँपालिकाकै उत्कृष्ट स्वास्थ्यकर्मी रहेको बताउँछन् । ‘उहाँ जानकी गाउँपालिकामा त बिरामीहरुका लागि डाक्टर नै हो,’ उनी भन्छन्, ‘उहाँको व्यवहारले जानकीबासी खुसी छन् । अहेब सापको बिरामीलाई परामर्श दिने तरिका उत्कृष्ट छ ।’ 

अनवरत रुपमा स्वास्थ्य सेवामा सक्रिय रहेका परियारलाई गाउँपालिकाले पटकपटक सम्मान गरेको चौधरी बताउँछन् । 
 

प्रतिक्रिया