बैतडी । बैतडीका चार घरमा चोरी भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ नगराउँका काशी गिरी, हरेन्द्र जोशी, रामदत्त जोशी र धनीदत्त जोशीको घरमा चोरी भएको सो वडाका अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।
गाउँमा एकजनाको निधन भएको र अन्य गाउँलेहरु उनको घरमा गएको मौका छोपी चोरले चोरी गरेको वडाध्यक्ष भट्टले बताए । उनका अनुसार काशीको घरमा रहेका कालिका मन्दिरका अन्दाजी १४ र ११ केजीका दुईओटा तामाका ताउली चोरिएका छन् । त्यसैगरी हरेन्द्रको घरबाट अन्दाजी ११ केजीको तामाको ताउली, रामदत्तको घरबाट दुईओटा तामाका गाग्री र धनीदत्तको घरबाट अन्दाजी १३ केजीको तामाको ताउली चोरी भएको छ ।
चोरीबारे गोकुलेश्वर प्रहरी चौकीमा जानकारी गराइसकिएको तर चोर भने पत्ता लाग्न नसकेको बताइएको छ ।
प्रतिक्रिया