ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
खगराज भट्टका दुःख

‘मुख्यमन्त्री भनेर प्रदेश गएँ, बिनाविभागीय मन्त्रीमा जागिर सकियो’

सोमबार ०५, फागुन २०८१ ११:०३

धनगढी । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्री बन्नका लागि मात्रै प्रदेशमा चुनाव लडेको बताएका छन् । चुनावका बेला आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने बताएको भन्दै भट्टले त्यो सपना पूरा नभएको बताए । 

डडेल्धुराको परशुराम नगरपालिकास्थित भागेश्वर माविको स्वर्ण जयन्तीको उद्घाटन समारोहमा बोल्दै भट्टले यस्तो बताएका हुन् । ‘म त प्रदेशमा माननीय मात्रै हुन्छु भन्ने थाहा पाएको भए चुनाव लड्ने थिएन,’ उनले भने, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र हाम्रा अध्यक्ष प्रचण्डले खगराजजी प्रदेशमा चुनाव लड्नुहोस् । हाम्रो गठबन्धन छ । चुनाव जित्नुभयो भने मुख्यमन्त्री तपाईँ भनेको कारणले चुनाव लडेँ ।’

काँग्रेस–माओवादीको चुनावी गठबन्धन टुटेपछि आफूले मुख्यमन्त्री बन्न नपाएको उनको धारणा थियो । 

‘हेर्दाहेर्दै माओवादी र काँग्रेसको गठबन्धन दुई महिनामै सकियो,’ उनले भने, ‘काँग्रेस प्रतिपक्षमा गयो । माओवादी कता अनि म कता भएँ । त्यसपछि कहिले एमालेसंग गठबन्धन त कहिले काँग्रेससंग गठबन्धन भयो । हुँदाहुँदा अहिले दुई ठुला पार्टीको गठबन्धन बनेको छ । हामी त सडकमा छौं ।’

उनले मुख्यमन्त्री बन्नका लागि आफू प्रदेशसभा सदस्य भएको बताउँदै बिनाविभागीय मन्त्रीमा जागिर गएको उल्लेख गरे । ‘म त मुख्यमन्त्री भनेर गएको मान्छे हुँ,’ उनले भने, ‘बिनाविभागीय मन्त्रीमा जागिर सकियो । पालै आएन त्यसपछि । अब के गर्ने ?’ 

भावी मुख्यमन्त्रीका रुपमा हेरिएका भट्टले एमालेका राजेन्द्र रावल नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्रीको नियुक्ति खाएका थिए । विश्वासको मत नपाउने देखेपछि रावलले मुख्यमन्त्रीबाट राजीनामा दिएसंगै भट्टको पनि एक महिनामै पद गुमेको थियो । त्यसपछि १२ माघ २०८० मा भट्टलाई दलको नेताबाट पनि हटाइएको थियो  ।

बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दलको नेताबाट हटाउँदै मानबहादुर धामीले नेता बनाएका थिए । भट्टलाई फेरि दल नेता बनाउने केन्द्रबाट हालसम्म पाँच पटक निर्देशन भएको छ । उक्त निर्देशन केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरेको छ । तर, सुदूरपश्चिमका बहुमत प्रदेशसभा सदस्य भट्टलाई दल नेता बनाउन तयार छैनन् । 

भट्टको दल नेता मात्रै होइन सुदूरपश्चिम इञ्चार्जको पद पनि गुमेको छ । गत वर्ष साउनसम्म माओवादीको सुदूरपश्चिम प्रदेश समिति इन्चार्ज पनि थिए भट्ट । साउनमा भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी मात्र इन्चार्ज हुने निर्णय गरेपछि भट्ट स्वतः इन्चार्जबाट हटेका थिए । 
 

प्रतिक्रिया