ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

११ वर्षीय बालकको हत्या, १४ र १७ वर्षीय किशोर पक्राउ

सोमबार ०५, फागुन २०८१ ०१:१०

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको छ । माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन रहेका ती बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । 

मृतक बालकको परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । प्रहरीले हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए ।  

शनिबार नियन्त्रणमा लिइएका ती दुई बालकलाई सोधपुछ गर्दा उनीहरूले २५ गते नै ११ वर्षीय बालकको हत्या गरेर उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर गाडेको बयान दिएका प्रहरीले बताएको छ । दुबै किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया