काठमाडौँ । भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली विद्यार्थी मृत भेटिएकी छन् । बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल ओडिसाको भुवनेश्वरस्थित सो होस्टलमा मृत अवस्थामा भेटिएकी हुन् ।
उनको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’
सामाजिक सञ्जालमा एक थ्रेड भाइरल भइरहेको छ । जसमा प्रकृतिले ती पुरुषबाट अति नै दुर्व्यवहारको सामना गर्नुपरेको र उनले यो कुरा गत महिना विश्वविद्यालयको इन्टरनल रिलेसन्स अफिस (आईआरओ)मा पनि रिपोर्ट गरेको दाबी गरिएको छ । उनले रिपोर्ट गरे पनि कलेज प्रशासनबाट कुनै पनि सहयोग प्राप्त नभएको बताइएको छ । दुर्व्यवहार सहन नसकेर नै लम्सालले आत्महत्या गरेको स्रोतलाई उद्धृत गर्दै दाबी गरिएको छ ।
घटनापछि आक्रोशित विद्यार्थीहरू विरोधका लागि सडकमा उत्रिएका छन् । प्रहरीले लम्सालको शव नियन्त्रणमा लिएर क्यापिटल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ ।
पत्रकारसँग कुराकानी गर्दै विश्वविद्यालयका रजिस्ट्रार जयाना राजन मोहन्टीले प्रेम सम्बन्धमा रहेको र आफ्नो पार्टनरको दुर्व्यवहार सहन नसेर आत्महत्या गरेको बताएका छन् । प्रहरीले आरोपित पुरुषलाई पनि पक्राउ गरेको उनले जानकारी दिए । रजिस्ट्रारको कार्यालयले सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न सूचना जारी गरेको छ ।
प्रतिक्रिया