ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

खुटियामा अवैध दोहन, सम्बन्धित निकाय मौन

मङ्गलबार ०६, फागुन २०८१ ०५:४६

धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ र ९ अन्तर्गत खुटिया नदीमा अनियन्त्रित रुपमा दोहन भइरहेको छ । ढुङ्गा र बालुवा दोहन गर्न नदीमै मापदण्डविपरीत स्काभेटर र जेसीभीको प्रयोग भइरहेका छन् । दैनिक दर्जनौँको संख्यामा पुग्ने ट्याक्टर, टिप्परलगायतका ढुवानीका साधनले प्रारम्भीक वातावरणीय परीक्षण (आईई) नगरिएका ठाउँबाट समेत ढुङ्गाबालुवाको उत्खनन् तथा संकलन गरिरहेका छन् ।

बर्षेनि अनियन्त्रितरुपमा भइरहेको दोहनले नदीको फैलावट क्षेत्र बढ्दै गइ आसपासका बस्ती जोखिममा परेका छन् । खुटिया नदीमा चुरेको फेदी नजिक तटीय क्षेत्रमा उत्खनन् तथा संकलन गर्न निषेध गरिएको छ । तर चुरे फेदीसम्मै पुगेर ढुङ्गाबालुवाको उत्खनन् र संकलन भइरहेको छ । 

ठूला आयोजनाका लागि बाहेक नदीमा स्काभेटर र जेसीबी प्रयोग गर्न पाइदैन तर खुटियामा स्काभेटर र डोजरले खनेर ठाउँठाउँमा ठूल्ठूला खाल्डा बनाइएका छन् । सम्बन्धित निकायले अनियन्त्रत दोहनलाई रोक्न सकेका छैनन् । नगरपालिकाका जनप्रतिनिधि, ठेकेदारलगायतको मिलेमतोमै खुटियामा अन्धाधुन्धरुपमा दोहन भइरहेको स्थानीयको आरोप छ । जथाभावी दोहन गरिदा आसपासका बस्तीसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्ग खुटिया नदीमा बनाइएको पुलसमेत जोखिममा परेको उनीहरुको भनाइ छ ।

‘नदीमा स्काभेटर र जेसीबी लगाएका हुन्छन् । कुन ठाउँबाट उठाउन पाउने, कहाँ नपाउने भन्ने केही मापदण्ड छैन, जहाँ पायो त्यहीँ उत्खनन् भइरहेको छ’ गोदावरी नगरपालिका–८, स्याउलेका गोपाल देउवाले भने, ‘मिलेमतोविना यसरी खुलेयाम दोहन हुनै सक्दैन ।’ खुटिया नदी कटान रोकथाम संरक्षण संघर्ष समितिका संयोजकसमेत रहेका उनले कुन ठाउँबाट कति मात्रामा उत्खनन गर्ने भन्ने कुनै मापदण्ड पालना नभएको बताए ।

अर्का स्थानीय चेतबहादुर रोकायाले बर्षेनि अयन्त्रितरुपमा दोहन भइरहँदा नदीको क्षेत्र फैलदै गइ खुटीया र बल्मी शिविरको बस्ती कटानको जोखिममा परेको बताए । उनले जथाभावी खनेर ढुङ्गा बालुवा निकाल्दा नदीको धार परिवर्तन हुँदै गएकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुटिया पुलसमेत जोखिममा परेको बताए । ‘दैनिक दर्जनौँ गाडी आएर जहाँ पायो त्यहीँबाट ढुङ्गाबालुवा खनेर लैजान्छन्’ रोकायाले भने, ‘अरु दुई÷चार वर्ष यसैगरी दोहन भइराख्ने हो भने न वारीपारीका बस्ती रहन्छन्, न पुल ।’  

जिल्ला समन्वय समितिले दुई साताअघि गरेको अनुगमनका क्रममा खुटियामा आइइ नगरेका ठाउँबाट ढुङ्गाबालुवा उत्खनन् गरिरहेका २९ वटा ढुवानीका साधनलाई नियन्त्रणमा लिएको थियो । ती साधन जरिवाना गरेर छोडिएको छ । अनुगमनपछि पनि अनियन्त्रित दोहन नरोकिएको स्थानीयले बताएका छन् ।

गोदावरी नगरपालिकाले खुटिया नदीबाट ढुङ्गाबालुवाको रोयल्टी संकलनका लागि यस वर्ष करिब ६ करोड रुपैयाँमा बाबाजी कन्स्ट्रक्सनसँग सम्झौता गरेको छ । ठूलो रकममा टेण्डर हुने भएकाले ठेकेदारले जसरी पनि पैसा उठाएर आम्दानी गर्न मनलाग्दी उत्खनन् हुँदा पनि आँखा चिम्लिने गरेको छ ।

नगर प्रमुख बीरेन्द्र भट्टले खुटियामा अनियन्त्रित दोहन भएको स्वीकारे । आइइ नगरेका ठाउँबाट समेत उत्खनन् भइरहेको पाइएपछि ठेकेदार कम्पनी जरिवाना गरिएको र त्यसलाई रोक्न लगाएको उनले बताए ।  ‘आइइ नभएका ठाउँमा समेत उत्खनन भएको देखियो, ट्याक्टर चालकले जहाँ पायो त्यहीबाट लैजाने रहेछन् । ठेकेदार कम्पनीले पनि यहीँ ठाउँबाट उठाउ भनेको देखिएन’ अनियन्त्रित दोहन रोक्न चुनौती रहेको उल्लेख गर्दै नगर प्रमुख भट्टले भने, ‘जति गर्दा पनि नियन्त्रण हुँदैन ।’ 

चुरेको फेदी भएर बग्ने खुटिया बर्खामा उर्लिन्छ । हिउँदयाममा भने नदीमा पानी हुँदैन । जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुसालले खुटियामा आइइ नभएका ठाउँमा समेत मेसिन लगाएर ढुङ्गाबालुवा संकलन भएको पाइएको बताए । उनले भने, ‘तटबन्धको मुनि समेत खनेर ढुङ्गाबालुवा संकलन गर्ने गरिएको रहेछ । आइइ नगरेका ठाउँमा ढुङ्गाबालुवा निकालेर ठूलाठूला खाल्डा पारिएका छन् ।’ गोदावरीका नगर प्रमुख र उपप्रमुलाई बोलाएर उत्खनन्को नियमित अनुगमन गर्न भनिएको समन्वय समितिले जनाएको छ ।

गोदावरी नगरपालिकाले ढुङ्गाबालुवाको रोयल्टी संकलन गर्न यसवर्ष छ करोड रुपैयाँमा ठेक्का लगाएको छ । नगरपालिकाले खुटिया नदीबाट रोयल्टीवाफत बर्षेनि यही हाराहारीमा आम्दानी गर्छ । तर उक्त आम्दानी ढुङ्गाबालुवा संकलन हुने क्षेत्रमा भइरहेको कटान नियन्त्रणका लागि हुन सकेको छैन । खुटियाको कटान बढ्दै गइ नदी वारीपारीका खुटिया शिविर र बल्मी शिविर जोखिममा परेका छन् । कटान नियन्त्रण गर्न वृहदरुपमा तटबन्ध निर्माणको काम भने भएको छैन । 

नदीको छेउछाउबाट अनियन्त्रित दोहन हुँदा कटानले नदीको फैलावट चाक्लिदै गएको छ । ‘यही नदीबाट नगरपालिकाले लाखौँ आम्दानी गर्छ तर कटान नियन्त्रणका लागि गतिलो तटबन्ध बनाइ दिँदैन’ गोदावरी–९, बल्मी शिविरकी तुलसी रोकायाले भनिन्, ‘नदी बस्तीमा फर्केर हाम्रो बासनै उठ्लाजस्तो भइसक्यो ।’ अर्का स्थानीय शारदा धामीले नदीको डरले बर्खामा डरैडरले बस्ने गरेको बताइन् ।  

स्थानीयका अनुसार तत्कालीन सात दलको निर्णयका आधारमा दुई दशकअघि चुरेका बाढीपीडित बल्मी शिविरमा बस्न थालेका हुन् । कतिपय परिवार त्यसअघि पनि त्यहाँ बस्थे । आम्दानीको केही हिस्सा लगाएर पक्की तटबन्ध निर्माण गरिदिए स्थानीयले माग गरेका छन् । अनियन्त्रित दोहन नियन्त्रण र तटबन्ध निर्माणको माग लिएर नगरपालिकादेखि प्रदेश सरकारसम्म गुहारे पनि सुनुवाइ नभएको स्थानीय सन्तोष आउजीले गुनासो गरे । ठेकेदार र नगरपालिकालाई जसरी पनि पैसा उठाउनमा मात्र सरोकार रहेको उनले बताए ।

‘पहिले यसरी उत्खनन् हुन्थेन, बस्ती पनि जोखिममा थिएनन्, अहिले बस्ती नजिकै नदी पुगेको छ । पुलका दुवै किनारतिर कटानको जोखिम छ’ आउजीले भने, ‘यसैगरी मनलाग्दी नदीमा खन्ने काम भइरहे दुई÷चार वर्षमा नदी छेउछाउसँग जोडिएका धेरै बस्ती उजाडिन्छन् ।’ खुटिया पुलबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको झोलुङ्गे पुलको एउटा कुना गत बर्खामा भएको कटानले नदीको बीच भागमा परेको उनले बताए ।

‘नगरपालिकाले वर्षेनि ८–१० लाखको लगानीमा बनाउने ससानो तटबन्ध बाढीले एकैपटक बगाएर लैजान्छ’ संघर्ष समितिका संयोजक देउवाले भने, ‘ठूलो लगानीमा वृहद तटबन्ध बनाउन र अनियन्त्रित दोहन रोक्न दवाव दिँदै आएका छाँै ।’ नगर प्रमुख भट्टले संघीय सरकारको जनताको तटबन्ध कार्यक्रमसँग समन्वय गरेर खुटिया पुल र सँगै जोडिएका बस्तीमा पक्की तटबन्ध निर्माणको पहल आफूले गरिरहेको बताए ।
 

प्रतिक्रिया