धनगढी । सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ। प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरि एक हजार १७६ मतदान स्थलमा दुइ हजार १९९ मतदान केन्द्र छन् । यस प्रदेशमा कुल १७ लाख १६ हजार मतदाता रहेका छन् ।
निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा प्रदेशका ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यसैगरी, ३९५ मतदान स्थललाई संवेदनशील मानिएको छ ।
सुरक्षाका लागि प्रदेशभर ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
केही मतदानस्थलमा भने अझैसम्म मतदाता नपुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए । मतदान सुरु भइसकेको दुई घन्टा बितिसक्दा पनि केही क्षेत्रहरुमा मतदान गर्न मतदाता नआएका हुन् ।
दार्चुलाको नौगाढ गाउँपालिका– १ नागुको गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका– ३ को दुधिलास्थित झाक्सु र बझाङको तालकोट गाउँपालिका– ४ लुकड मतदान केन्द्रमा मतदाता नआएका हुन् ।
प्रतिक्रिया