ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको स्थायी राजधानीबारे प्रधानमन्त्रीसंग छलफल भएको छ : मन्त्री भण्डारी

बिहिबार ०८, फागुन २०८१ ०२:५१

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमका महत्वपूर्ण विकास निर्माणका योजनालाई गति दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको बताएका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

‘सुदूरपश्चिमबाट सरकारमा सम्मेलित सबै मन्त्री, माननीय र यहाँका नेताहरुले प्रधानमन्त्रीज्यूलाई भेटेर प्रदेशको विकाससंग जोडिएका योजनालाई अगाडि बढाउन आग्रह गरेका छौं,’ उनले भने, ‘गेटामा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दीपायल फास्ट ट्रयाक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्वपूर्ण छलफल भएको छ ।’

अधुरा कामलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको भण्डारीको भनाई थियो । सेती प्रादेशिक अस्पताल समेतलाई जोडेर जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने कुरा अघि बढेको उनले बताए । 

मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताए । ‘संसदको अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसदमा प्रवेश पाउनेछन्,’ उनले भने, ‘सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ ।’ 

उद्योगमन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजीक्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताए ।

प्रतिक्रिया