धनगढी । कैलालीमा संस्कार क्रिकेट लिग हुने भएको छ । गोदावरी नगरपालिका– ८ स्याउले बजारमा चैत ३० गतेदेखि संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलले ‘टिम–११ संस्कार क्रिकेट लिग’ आयोजना गर्न लागेको हो ।
प्रतियोगितालाई टिम–११ काठमाडौंले प्रायोजन गर्ने भएको छ । लगातार आठ वर्षसम्म धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरेपश्चात अब स्याउले बजारमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक रामचन्द्र शाहीले जानकारी दिए । उनले स्याउले बजारलाई खेलको माध्यमबाट चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । १० दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १११ रुपैया र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने शाहीले बताए ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार ५५५ तथा उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडीलाई नगद तीन हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने उनले बताए ।
प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढीरहेको बताउँदै शाहीले प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने अनुमान रहेको बताए ।
प्रतिक्रिया