धनगढी । ०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमका १६ क्षेत्रमध्ये आठ सिटमा जित निकाल्दै पहिलो भएको थियो, नेपाली कांग्रेस । नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले तीन–तीन क्षेत्रमा जित निकाल्दा एमाले दुई क्षेत्रमा विजयी भएको थियो ।
माओवादी केन्द्र भने कांग्रेस र एकीकृत समाजवादीसंगको गठबन्धनका बाबजुत पनि निल भएको थियो । सो समयमा गठबन्धनले सिट बाँडफाँट गर्दा तत्कालीन माओवादी केन्द्रको भागमा चार क्षेत्र परेका थिए । कैलाली २ र ३, कञ्चनपुर १ र बैतडी माओवादीले पाएको थियो । तर, माओवादीका सबै उम्मेदवार पराजित भएका थिए ।
०७९ सालमा माओवादीले ब्यहोरेको अवस्था यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को छ । त्यो चुनावमा छ सिट जितेका (तीन नाउपा र तीन एकीकृत समाजवादी) पार्टीसंग एकता भए पनि नेकपा सुदूरपश्चिममा शून्य हुने लगभग निश्चित भएको छ ।
सुदूरपश्चिमका १६ मध्ये १४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नौ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् भने तीन क्षेत्रमा नेपाली कांग्रेस र दुईमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अब कैलाली– २ र अछाम– २ को अन्तिम नतिजा घोषणा हुन बाँकी छ ।
तर, दुबै क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी हुने सम्भावना नै देखिएको छैन । कैलाली क्षेत्र नम्बर २ मा रास्वपाका केपी खनालको जित सुनिश्चत भइसकेको छ । गन्न बाँकी मतभन्दा उनको अग्रता बढी छ । त्यहाँ नेकपाका उम्मेदवार नन्दबहादुर साउँद पाँचौ स्थानमा छन् ।
अछाम– २ मा पनि कांग्रेस उम्मेदवार पुष्पबहादुर शाह र एमाले उम्मेदवार यज्ञबहादुर बोगटीबीच प्रतिस्पर्धा छ । नौ हजार मत गणना बाँही हुँदा बोगटीले सात हजार ५०४ मत पाएका छन् भने शाहले छ हजार ९१७ मत पाएका छन् । नेकपाका उम्मेदवार बलबहादुर कुँवर भने चौथो स्थानमा छन् । उनको मत दुई हजार ९९१ मात्रै छ ।
सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा नेकपा उम्मेदवार निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् । अछाम– १ मा भीम रावल, कैलाली– ३ मा वीरमान चौधरी र कञ्चनपुर– १ मा बिना मगर मात्रै दोस्रो भए । रावल ५२६ मतले मात्रै पराजित हुँदा चौधरी र मगरको मतान्तर भने फराकिलो छ ।
प्रतिक्रिया