ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री राणाले गरिन् ओडिसाका मुख्यमन्त्री माझीसँग फोनवार्ता

शनिबार १०, फागुन २०८१ ०५:३५

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् ।

केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिन उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरूको समन्वयका लागि पनि मैले मुख्यमन्त्री माझीसँग आग्रह गरेको छु ।’ 

यस घटनालाई ओडिसा राज्यले पनि गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी आफूलाई गराएको परराष्ट्रमन्त्री राणाले बताइन् ।  

त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन मुख्यमन्त्री माझीले दिएको उनले बताइन् । 

सो घटनापछि नेपाली विद्यार्थी फर्किने क्रम जारी छ । काँकडभिट्टा नाका भएर मात्र २० जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । यसअघि विद्यार्थीको एक समूह वीरगञ्ज आइपुगेको थियो । 

प्रतिक्रिया