ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संसदीय दलको विवाद प्रदेशमै मिलाउन प्रचण्डको निर्देशन

बुधबार १४, फागुन २०८१ ०६:४३

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम संसदीय दलको विवाद प्रदेशमै मिलाउन निर्देशन दिएका छन् ।

लामो समयदेखि केन्द्रीय समितिको निर्देशन प्रदेशका सांसद्ले नमानेपछि प्रचण्डले बुधबार काठमाडौँ बोलाएर सो निर्देशन दिएका हुन् । संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थियो । 

फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको सहभागी एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार भट्ट पक्षधरले पटकपटक केन्द्रको निर्देशन संसदीय दलका नेता मानबहादुर धामीले उल्लघंन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए । धामी पक्षका सांसदहरू प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए । 

 ‘अध्यक्ष प्रचण्ड र इन्चार्ज गिरिराजमणिजीको रोहबरमा संसदीय दलको नेता सहमतिमै परिवर्तन गर्ने विषयमा दुवै पक्षबिच चर्को विवाद भयो । दलका नेता मानबहादुर धामीले आफू प्रक्रियाबाट नै दलको नेता चुनिएकाले प्रक्रियाबाट हटाउन चुनौती दिनुभयो । केन्द्रको निर्णय आफूलाई मान्य नभएको अडान लिनुभयो । तर खगराजी पक्षधरले केन्द्रको निर्देशन संसदीय दलले मान्नुपर्ने र यही सहमति गर्नुपर्ने अडान लिएका थिए । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि अध्यक्षले विवाद प्रदेशमै गएर मिलाउन निर्देशन दिएको ति सांसद्ले बताए ।

धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख रहेका छन् ।

२०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ । 

विवाद मिलाउनका लागि फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । यसअघि अध्यक्ष प्रचण्डले पटकपटक दिएको निर्देशन र दुई पटक पठाएको परिपत्र समेत कार्यान्वयन हुन सकेको छैन । 

केही दिनअघि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाएका हुन् ।

 

प्रतिक्रिया