ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर ३, दार्चुला, बाजुरामा नेकपाका उम्मेदवारको धरौटी जफत

आइतबार २४, फागुन २०८२ ०२:०१

धनगढी । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कम्प्युनिष्ट पार्टीका थप तीन उम्मेदवारको धरौटी जफत भएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ मा मानबहादुर सुनार, दार्चुलामा लक्ष्मणदत्त जोशी र बाजुरामा प्रकाशबहादु्र शाहको धरौटी जफत भएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको जफात भएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ मा ५३ हजार ५१५ मत सदर भएकोमा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो । तर नेकपाका सुनारले चार हजार २८४ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन् । उक्त क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको छ । १७ जना उम्मेदवर रहेको उक्त क्षेत्रमा रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत पाई विजयी भएका छन् ।

दार्चुलामा कुल ४६ हजार ८९० मत सदर भएको थियो भने धरौटी जोगाउन चार हजार ६८९ मत कम्तिमा ल्याउनुपर्ने थियो । नेकपाका जोशीले तीन हजार ६५ मत मात्रै प्राप्त गरी धरौटी गुमाए । दार्चुलामा जोशीसहित आठ जना उम्मेदवारहरुको पनि धरौटी जफत भएको छ । दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन चार हजार ३९० मत आवश्यक थियो । तर नेकपाका शाहले तीन हजार ३०१ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन् । शाहसहित बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीले १७ हजार १७३ मत पाई विजयी भएका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेका स्नेहीसहित राप्रपाका गोविन्द खडायत, स्वतन्त्र गोरखबहादुर ऐर, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट, स्वतन्त्र तीर्थराज उप्रेती, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेमकिपाका सुरेन्द्र राज भट्ट, स्वतन्त्र सुरेन्द्र रावल र आम जनता पार्टीका खडकबहादुर ठकुराठीको धरौटी जफत भएको छ ।

निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।

प्रतिक्रिया