ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

२०८४ चुनावका लागि बाजुरामा एमाले–माओवादीबीच अहिल्यै भागवण्डा

बुधबार १२, मङि्सर २०८१ ०८:४५

धनगढी । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा २०८४ सालको स्थानीय निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अहिलेनै तालमेल गर्ने सहमतिसहित पदसमेत भागवण्डा भएको छ । सहमतिपछि माओवादी केन्द्रले उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

स्वामीकार्तिको उपाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपाध्यक्षमा माओवादीबाट राजुकुमारी बिकले उम्मेदवारी दर्ता गराएकी थिइन् । दुई दलको सहमतिपछि उनले उम्मेदवारी फिर्ता लिँदै एमालेकी सुलोचनाकुमारी भण्डारी बुढालाई समर्थन गरेकी छन् ।

दुवै दलले स्थानीयस्तरमा २०८४ को निर्वाचनका लागि पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् । उक्त निर्वाचनमा एमालेले अध्यक्ष र माओवादीले उपाध्यक्षसहित दुईवटा वडा लिने सहमति भएको छ । बिकसहित माओवादीका स्थानीय केही नेता भण्डारीको प्रचारप्रसारमा संलग्न छन् ।

तालमेलले माओवादीमा विवाद

गठबन्धन भत्किएसँगै दुई पार्टीबीचको तित्तसम्बन्धका बीच तालमेलको सहमति भएपछि माओवादीभित्र विवाद देखिएको छ । पार्टीको जिल्ला कमिटी एमालेसँगको तालमेलको विपक्षमा छ । 

माओवादीको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष रन्दिप बुढाले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिले एमालेसँग पद तालमेल गरिएको बताएका छन् । निर्वाचनमा पदसमेत बाँडफाँट गर्ने सल्लाह रहेको उनले बताए ।

उपानिर्वाचनमा माओवादीले समर्थन गरेपछि एमाले उत्साहित देखिएको छ । २०८४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारीसहित उपनिर्वाचनमा तालमेल गरिएको एमाले स्वामीकार्तिक गाउँ कमिटी अध्यक्ष नवराज कट्टेलले बताए ।

उपाध्यक्षका लागि एमालेका भण्डारी, काँग्रेसका पुल्तीसरा शाही र एकीकृत समाजवादीका जवा शाही प्रतिस्पर्धामा छन् । एमालेले २०७९ मा को चुनावमा पराजित बुढालाई पुनः उम्मेदवार बनाएको हो । उपाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएको थियो ।

प्रतिक्रिया