ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘पाउडर दूध उत्पादन उद्योग’ खोल्दै सुदूरपश्चिम सरकार

शनिबार १७, फागुन २०८१ १०:४९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पाउडर दूध उत्पादन उद्योग स्थापना गर्ने भएको छ । ४० करोडको लागतमा कैलाली जिल्लामा ४० पाउडर दूध उत्पादन उद्योग स्थापना गर्न लागिएको हो । 

नेपाल सरकारको विशेष अनुदानमा प्रदेश सरकारले तीन वर्षमा सो उद्योग स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको दुग्ध विकास बोर्डले गतवर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।

सो उद्योग स्थापनाका लागि डीपीआर पुनरावलोकन गरिरहेको दुग्ध विकास बोर्डका सदस्य सचिव डा. हेमराज अवस्थीले बताए । उनले डीपीआर पुनराबलोकनपछि उद्योग निर्माणको लागि टेण्डर आव्हान गरिने बताए । दैनिक ५ टन दूध पाउडर उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गर्न ३ वर्षीय योजनाको रुपमा अगाडि बढाइएको अवस्थीले बताए ।

यसैगरी, सो उद्योग स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ मा भवनसहितको जमिन दिने प्रतिवद्धता जनाएको छ । दुग्ध प्रशोधन उद्योगको प्रयोगका लागि सो भवनसहितको जमिन दिने सम्झौताका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढी उपमहानगरपालिकालाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले बताए ।

उनले उद्योग निर्माणपछि सञ्चालनको लागि दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिने बताए । संस्थानले कैलाली, कञ्चनपुर र बर्दियासम्मको दूध उद्योगमा ल्याएर प्रशोधन गर्ने र उत्पादन भएको दूध पाउडर मागअनुसार बिक्री गर्ने मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया