ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
धनगढीबाट राप्रपाको घोषणा

‘अवस्था बदल्न व्यवस्था बदलौं’

आइतबार १८, फागुन २०८१ ०६:५०

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्था देशले धान्न नसक्ने बताएका छन् । कैलालीको धनगढीमा भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्नका लागि भन्दै राप्रपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

०४६ सालको परिवर्तनपछि काँग्रेस र कम्युनिष्टले देश चलाएको बताउँदै उनले देशको अवस्था भने परिवर्तन नभएको बताए । ‘साढे तीन दशक छोटो समय होइन,’ उनले भने, ‘तर यो बीचमा नेता मात्रै बलियो हुँदै गयो । नेता मोटाउने  तथा देश र जनता दुब्लाउँदै जाने परिस्थति बनेको छ । नेपाल संसारको भ्रष्ट देशको सूचीमा उकालो लागेको छ । देशको अर्थतन्त्र नै संकटमा परेको छ ।’

अहिलेको व्यवस्था र नेतृत्वबाट देशको अवस्था परिवर्तन नहुने बताउँदै अध्यक्ष लिङदेलले अब बिकल्पमा जान आवश्यक रहेको बताए । ‘देशलाई नयाँ बाटोमा लैजानपर्ने आवश्यकता भइसकेको छ,’ उनले भने, ‘अहिलेको बाटोबाट त्यो सम्भव छैन । विदेशको बुइ चढेर अनेक व्यवस्था ल्याइए पनि त्यो असफल भइसके । नयाँ समझदारी जरुरी छ । अभिभावकीय संस्थाका रुपमा राजा रहने र जनताबाट प्रत्येक निर्वाचिन कार्यकारी प्रधानमन्त्रीले देश चलाउने व्यवस्था ल्याउन आवश्यक छ ।’

राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले देश अहिले संकटमा परेको बताए । ‘संविधानपछि स्थिर सरकार आउँछ र नेपालको राजनीतिक समस्या समाधान हुन्छ भनिएको थियो,’ उनले भने, ‘यो व्यवस्थाले झन अस्थिर सरकार दिएको छ । सरकार फेरबदलका विषयमा मात्रै चर्चा हुन्छ । जनताका समस्याबारे छलफल नै हुँदैन । त्यसैले यो व्यवस्था फेर्न आवश्यक छ ।’

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले शासन व्यवस्था धनीका लागि नभई गरिब जनताका लागि परिवर्तन गर्नुपर्ने बताए । ‘दुई चार जनालाई मन्त्री बनाउनका लागि व्यवस्था परिवर्तन गरौं भनेका होइनौं,’ उनले भने, ‘नेपाली जनताको अवस्था परिवर्तनका लागि व्यवस्था फेरौं भनेका हौं । हामीले त देशलाई बोझ बनेको प्रदेश संरचना पनि खारेज गरौं भनेका छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिमले आयोजना गरेको विरोधसभामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नाराका साथ विरोधसभा गरिएको राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया