फोटो: ठगिएका मध्येका केही युवाहरु
टीकापुर । पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरुलाई ठगेको छ । सो गिरोहले कैलाली र बर्दियाका झण्डै दुई सय जना युवाहरुबाट करिव चार करोड रुपैयाँ ठगेको पाइएको हो ।
गिरोहमा बर्दिया राजापुर नगरपालिका–५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन् । उनीहरुले युवाहरुलाई सम्पर्कमा ल्याउन गाउँगाउँमा एजेण्टसमेत राखेको पाइएको छ ।
युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन् । उनीहरुमध्ये कसैले नगद र कसैले बैंक चेकमार्फत गिरोहलाई रकम बुझाएका हुन् ।
गिरोहले युवाहरुलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए । यसै क्रममा युवाहरुलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो ।
उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो । पहिलो चरणको तालिम पश्चात युवाहरुलाई घर पठाइएको थियो । उनीहरुलाई २०८१ दसैंअघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो ।
युवाहरुलाई पहिलो चरणमा पानीबाट आफू र यात्रुलाई कसरी जोगाउने र दोस्रो चरणमा अंग्रेजी बोलीचालीका बारेमा सिकाइएको थियो । गिरोहले दुई चरणको तालिमपछि युवाहरुलाई २० दिनभित्र जागिरमा पठाउने आश्वासन दियो ।
युवाहरु जागिरमा जानुभन्दा पहिले घर परिवार भेट्न भन्दै घर फर्किए । घर फर्केको चार महिना बितिसक्दा पनि जागिरको ठेगान नभएपछि उनीहरु गिरोहको खोजीमा निस्किएका थिए ।
युवाहरुले गिरोहका नाइके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते । जागिरको सुनिश्चितता नभएपछि नाइके चौधरीले सबै युवाहरुलाई विभिन्न बैंक तथा वित्तिय संस्थाको चेक थमाए । युवाहरु चेक बोकेर बैंक तथा वित्तिय संस्थामा पुगेपछि चेक साटिएन । चेक नसाटिएपछि युवाहरुले ठगिएको चाल पाएका हुन् ।
ठगिनेमध्ये जानकी गाउँपालिका–८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्कविहीन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन् । गिरोहले यसैगरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिमपश्चात भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जनासमेत घर फर्किएका छन् । घर फर्किन नसकेका नौ जनाले पनि अहिलेसम्म जागिर पाउन नसकेको पीडित जानकी गाउँपालिका–१ तोरैयापुरका अनुराग थारुले जानकारी दिए ।
‘मुम्बई पुगेकाहरुले पनि जागिर पाएका छैनन्,’ उनले भने, ‘धेरैजसो युवाहरु फर्किसकेका छन् र अरु पनि फर्किने क्रममा छन ।’ गिरोहले युवाहरुलाई मासिक करिब डेढ लाख आम्दानी हुने आश्वासन दिएको पाइएको छ । राम्रो कमाई हुने देखिएपछि युवाहरु गिरोहको चंगुलमा फसेका हुन । उनीहरुमध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए ।
जागिर पाउने प्रलोभनमा परेर युवाहरुले विभिन्न वित्तिय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए । अहिले युवाहरुलाई ऋणको सावा र ब्याज तिर्न निकै कठिनाई भइरहेको पीडित जानकी गाउँपालिका– ८ भगरैयाका विष्णु चौधरीले बताए । उनका अनुसार जागिरको प्रलोभनले भएको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको छ । ‘ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने, ‘प्रलोभनमा परेर दुःख पाइयो ।’
यतिबेला गिरोहको प्रलोभनमा परेर ठगिएका युवाहरु न्यायका लागि भौतारिरहेका छन् । उनीहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेको छैन ।
प्रहरीले उजुरी लिन नमानेपछि उनीहरु प्रशासन कार्यालय पुगेका छन् । इलाका प्रशासन कार्यालय टीकापुरले न्यायका लागि श्रम विभागमा जान सुझाव दिएपछि उनीहरु झन तनावमा परेका छन् ।
‘एकातिर ऋण तिर्न सकिएको छैन । अर्कोतिर थप ऋण खोजेर श्रम विभाग पुग्नुपर्ने बाध्यता आइलागेको छ,’ पीडित मध्येका एक शंकर चौधरीले भने, ‘ठगिएको पैसा असुल्न ऋणमाथि ऋण थप्नुपर्ने अवस्था आइलागेको छ ।’
प्रतिक्रिया