ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

वनमा रजगज चलाइरहेका यी कर्मचारी

बुधबार १२, मङि्सर २०८१ ०५:५२

धनगढी । वन अधिकृत रणेन्द्र सिंह डिभिजन वन कार्यालय डडेल्धुरामा कार्यरत भएको ६ वर्षभन्दा बढी भइसकेको छ । उनलाई गत १४ कात्तिकमा सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय कञ्चनपुर सरुवा ग¥यो । शक्तिको आडमा छ वर्षदेखि एउटै कार्यालयमा रजगज गरिरहेका उनी अहिले खटाएको ठाउँ नगएर सरुवा रोक्नका लागि शक्ति केन्द्र धाइरहेका छन् । 

नेपाली काँग्रेस निटक कर्मचारी युनियनका डडेल्धुरा जिल्ला अध्यक्षसमेत रहेका सिंहको सरुवा रोक्न मन्त्रालय सरुवाको निर्णय संशोधन गर्ने तयारीमा छ । ‘उनको सरुवा रद्द गर्न शक्ति केन्द्रको दवाव थेगिनसक्नु छ’ मन्त्रालय स्रोतले भन्यो, ‘निर्णय भइसकेको छैन तर उनको सरुवा रद्द गर्ने मन्त्रालयको तयारी छ ।’

काँग्रेसकै एक पक्षले सिंहको सरुवा गराएको हो । अर्को पक्ष अहिले सरुवा रद्द गराउने कसरतमा छ । ‘डिभिजन वन कार्यालय डडेल्धुरामा सिंहको लामो समयदेखि रजगज छ,’ वनकै एक कर्मचारीले भने, ‘उनले डडेल्धुराका कयौँ नेतालाई आर्थिक प्रभावमा पारेका छन् । आर्थिक चलखेलका लागि पनि उनी निकै माहिर मानिन्छन् ।’

सचिवलाई समेत रोक्नसक्ने वन अधिकृत

सिंहजस्तै शक्ति केन्द्रलाई रिझाएर डिभिजन वन धनगढीमा रजगज गरिरहेका अर्का कर्मचारी हुन् वन अधिृकत पूर्णशंकर यादव । उनी मन्त्रालयका सचिवलाई पनि आफ्नो प्रभावमा पार्नसक्ने हैसियत राख्छन् । कर्मचारी सरुवा मापदण्डअनुसार गत वर्ष उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भदौ महिनाभित्र कर्मचारी सरुवा गरिसक्नु पथ्र्यो ।

मन्त्रालयका कर्मचारी सरुवाको निर्णय हुनुअघि तत्कालीन सचिव वेदप्रकाद ढकालको सरुवा भयो । संघले उनको ठाउँमा जीवनाथ पौडेललाई पठायो । ‘तर पूर्णशंकरसहितका केही कर्मचारीले राजनीतिक पहुँचका आधारमा सरुवा अवधिभर नयाँ सचिवलाई सुदूरपश्चिम आउन दिएनन् । काठमाडौँमै रोकिदिए’ मन्त्रालयका एक कर्मचारीले भने, ‘किनकी सरुवा हुने सूचीमा यादवको पनि नाम थियो ।’  

यादव बीचका एक वर्षबाहेक करिब १२ वर्षदेखि यहीँ छन् । बीचमा बाजुरा सरुवा भए पनि अधिकांश समय उनी त्यहाँ गएनन् । उनी एक वर्षमै पुनः धनगढी सरुवा गराएर आउन सफल भए । 

‘काँग्रेस निकट भए पनि यहाँका अन्य पार्टीका नेताहरुलाई पनि प्रभावमा राख्नसक्ने क्षमता यादवसँग छ’ वन कार्यालयका एक कर्मचारीले भने, ‘माओवादीका नेता मन्त्री हुँदा उनलाई सरुवा नगर्न माओवादीकै प्रभावशाली नेताहरु समेत परिचालित भएका थिए ।’ यादव वनका सिनियर कर्मचारीलाई समेत आफूअनुकुल सरुवा गर्नसक्ने हैसियत राख्छन् । यसपालि पनि सरुवाको सूचीमा उनको नाम परेन ।

दशकसम्म एउटै कार्यालयमा

अर्का वन अधिकृत दिनेशकुमार यादवले गर्ने गरेको शक्तिको चलखेल पनि रोचक छ । उनी कञ्चनपुरको कुण्डा सव डिभिजन वन कार्यालय पचकडीया प्रमुखको रुपमा काम गर्न थालेको करिब एक दशक भयो । प्रदेश सरकारले हालै गरेको सरुवामा केही कर्मचारीलाई छ महिना नपुग्दै सरुवा गरेको छ । पहुँच र प्रभावको आधारमा यादव भने सरुवा भएनन् । 

धनगढी सव डिभिजन वन कार्यालयका वन अधिकृत किशोर धामी र पहलमानपुर डिभिजनका अधिकृत सुरेन्द्र कठायत पनि ६–७ वर्षदेखि सरुवा भएका छैनन् । सचिव र जुनुसुकै पार्टीका मन्त्री आए पनि सरुवामा उनीहरुलाई फरक पर्दैन ।

अन्य कर्मचारी सरुवामा समेत सेटिङ्ग 

सुदूरपश्चिम प्रदेश सरकारले गर्ने कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ । ‘केही कर्मचारीको वर्ष दिन नपुग्दै सरुवा गर्ने र केहीलाई दशक बित्दा पनि सरुवा नगर्नुको कारण आर्थिक चलखेल र राजनीतिक पहुँच हो भन्ने प्रष्टै छ,’ मन्त्रालयका एक अधिकृतले भने, ‘यादव र सिंहलगायत पहुँचवाला अधिकृतले आर्थिक चलखेल र शक्तिको आडमा आफ्नो सरुवामात्रै रोक्दैनन्, कुन कार्यालयमा कसलाई हाकीम बनाएर पठाउने भनेर पनि सेटिङ मिलाउने काम गर्छन् ।’  

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले कर्मचारी सरुवामा केही कमजोरी भएको स्विकार गरे । ‘सबै कुरा सचिवको हातमा पनि छैन,’ उनले भने, ‘मैले आफ्नो तहतर्फबाट फेयर सरुवा नै गर्न खोजेको हुँ । तर, वर्षाैसम्म सरुवा नभएकाहरुलाई कार्यदक्षता राम्रो छ भन्दै रोक्न खोजिन्छ । डिभिजन वन अधिकृतहरुले नै हामीलाई अनुभवी व्यक्ति चाहिन्छ भन्नुहुन्छ ।’
 

प्रतिक्रिया