डडेल्धुरा । डडेल्धुरामा कम उमेरमा सुत्केरी हुने घटनामा वृद्धि भएको देखिएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्म कुल १,२६४ जना महिलाले सुत्केरी भए । जसमा १५४ जना महिलाको उमेर २० वर्षभन्दा कम छ ।
यो संख्या लगभग १२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराको सात स्थानीय तहमा विभिन्न स्थानबाट २० वर्ष मुनिका महिलाले सुत्केरी गरेका छन् । नवदुर्गा गाउँपालिकाका ७ जना, अमरगढी नगरपालिकाका ८३, अजयमेरु गाउँपालिकाका ९, भागेश्वर गाउँपालिकाका २, परशुराम नगरपालिकाका ३५, आलिताल गाउँपालिकाका ११ र गन्यापधुराका ७ जना गरी कुल १५४ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गरेको सूचना अधिकारी जनक चन्दले जानकारी दिए ।
कम उमेरमा बच्चा जन्माउँदा आमा र नवजात शिशुको जीवनमा गम्भीर जोखिम उत्पन्न हुन्छ । महिला कम उमेरमा सुत्केरी हुने क्रम नरोकेका कारण मातृशिशु मृत्युदर घटाउन चुनौती बनिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
सूचना अधिकारी चन्दले २० वर्ष मुनिका महिलाले सुत्केरी गर्ने घटनालाई शून्यमा झार्न सरकारी र अन्य निकायहरूलाई अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया