धनगढी । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले संगठनका केन्द्रीय उपमहासचिव एवम् ऐश्वर्य बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष विकास बिष्टमाथि हातपात भएको भन्दै संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्यक्षका उम्मेदवारसमेत रहेका बिष्ट र स्ववियु निर्वाचन अधिकृतमाथि अनेरास्ववियुका जिल्ला अध्यक्ष कुवेर खड्कालगायतले हातपात गरेको आरोप लगाएको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत रहेका खड्कासहित अनेरास्ववियुका कार्यकर्ताले इकाइ कमिटी अध्यक्ष बिष्ट र निर्वाचन अधिकृतमाथि हातपात गर्नुका साथै निर्वाचनसम्बन्धी कागजातहरु च्यातेको विज्ञप्तिमा जनाइएको छ ।
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश अध्यक्ष बीरबहादुर थापाले विज्ञप्ति जारी गर्दै हातपातमा संलग्नलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
‘हार मानसिकताको उपजका रुपमा देखाइएका यस्ता गैरराजनीतिक र अनैतिक घटनाको अनेरास्ववियू (क्रान्तिकारी) घोर भत्सर्ना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कार्बाहीका लागि सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।’
प्रतिक्रिया