ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराबाट सुरु भयो भूकम्पपीडितलाई अनुदान हस्तान्तरण

शुक्रबार २३, फागुन २०८१ ०७:३७

धनगढी । डोटी भूकम्पको दुई वर्षपछि प्रभावितलाई  अनुदान रकम हस्तान्तरण सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले बिहीबार राति जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर भूकम्प प्रभावित लाभग्राहीलाई राहत वितरण कार्यक्रमको सुरुवात गरेका हुन् ।

अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदानबापतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गर्दै सो कार्य आरम्भ गरिएको मन्त्री लेखकले घोषणा गरे । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे ।

`डोटी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको थियो,´ उनले भने, `अहिले पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ भएको छ ।´

उनले प्रभावित जिल्लामा पुर्ननिर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने बताए । मन्त्री लेखकले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ उद्घाटन गरिने जानकारी दिए ।

उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भए पनि जाजरकोटमा क्षति आँकलन गर्न आवश्यक प्राविधिक खटाइने जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई राहत वितरण गरिने बताए ।

डोटीमा ०७९ कात्तिक २३ गते बिहान २ः१२ बजे ६.६ म्याग्निच्यूड, कात्तिक २२ गते राति ९ः०७ बजे ५.७ र ९ः५६ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा छ जनाको मृत्यु भएको थियो । बझाङमा ०८० असोज १६ गते गएको भूकम्पका कारण एक जनाको मृत्यु, २९ जना घाइते र सात हजार बढी संरचनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया