धनगढी । सुदूरपश्चिम प्रदेश सरकारद्वारा बिहीबार कैलालीको गोदावरीस्थित सालिनी बाटीकामा आयोजित ‘समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेशसभा सदस्यको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको हस्तक्षेपका कारण भद्रगोल हुन पुगेको छ ।
कार्यक्रममा सहभागीका हैसियतमा आमन्त्रित रावलले कार्यतालिकाविपरीत आफ्नो प्रस्तुतीकरण गर्न खोजेपछि सहभागी सांसदहरुले बहिस्कार गर्ने अवस्था उत्पन्न भएको सहभागी सांसदहरुले बताएका छन् । कार्यक्रमा मुख्यमन्त्री, सभामुख, प्रदेश सभा सदस्यहरु र सचिवहरु सहभागी थिए ।
दुई दिने कार्यक्रमको पहिलो दिनको पहिलो सत्रको अध्यक्षता आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले गर्ने, उक्त सत्रमा आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले ‘बजेट तथा कार्यक्रमको नीतिगत पक्ष/प्रवृति तथा अभ्यास’, त्यसपछि पूर्वसचिव गोपीनाथ मैनालीले ‘योजना र बजेटको अन्तरसम्बन्ध’ विषयक प्रस्तुतीकरण गर्ने कार्यतालिका तय गरिएको थियो ।
दोस्रो सत्रको अध्यक्षता सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्ने र उक्त सत्रमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले ‘स्रोत परिचालन तथा वित्त अभिवृद्धि’ विषयक सहजीकरण गर्ने कार्यतालिका पूर्वनिर्धारित रुपमा सहभागीहरुलाई दिइएको थियो ।
पूर्वसचिव मैनालीको प्रस्तुतिपछि दुईवटै प्रस्तुतिमाथि खुला छलफलसहित पहिलो सत्रको समापनको कार्यतालिका थियो । मैनालीको प्रस्तुति सकिएर छलफलको सत्र सुरु हुनै लाग्दा पहिलो टिप्पणीकर्ताका रुपमा पूर्वमुख्यमन्त्री रावल उभिए । उनी अघिल्ला प्रस्तुतिमाथि टिप्पणी, सुझाव तथा छलफल होइन कि स्टेजमा उक्लिएर कार्यतालिकामै नभएको आफ्नो प्रस्तुति स्लाइडमै राख्न थालेपछि सहभागी सांसदहरुले आपत्ति जनाएका थिए ।
सांसदहरुले आपत्ति मात्रै जनाएनन् रावलको सत्र नै बहिस्कार गर्दै धमाधम हलबाट बाहिर निस्किएका थिए । हल रित्तो भएपछि पूर्वमुख्यमन्त्री रावल पनि बाहिरिन बाध्य भए ।
हलबाहिर निस्केर चिया खाइसकेपछि सांसदहरु हलभित्र प्रवेश गरे । त्यसपछि पनि रावलले आफूले प्रस्तुति राख्ने अडान कायमै राखे । सांसदहरु कसैले पनि उनको प्रस्तुतिलाई ध्यान दिएनन् । त्यसैमा उनले प्रस्तुति लम्ब्याउने छाँट देखिएपछि मन्त्री तथा सांसदहरुले कार्यसूचीमै नभएकोले रावललाई रोकिन र प्रस्तुति अन्त्य गर्न आग्रह गरे । त्यस क्रममा सांसद, मन्त्री र रावलबीच केही समय नोकझाँेक तथा भनाभन पनि चलेको एक सांसदले बताए ।
‘त्यसपछि सहभागी सांसदहरुले होहल्ला गर्दै सत्रको अध्यक्षता गरिरहेका आर्थिक मामिला मन्त्री थापालाई रुलिङ गर्न आग्रह गरेका थिए,’ सहभागी अर्का एक सांसदले भने, ‘होहल्ला हुन थालेपछि अध्यक्षता गरिरहेका थापाका साथै मुख्यमन्त्री कमलबहादुर शाहले समेत रावललाई रुलिङ गर्नु परेको थियो ।’ सत्रका अध्यक्ष र मुख्यमन्त्रीकै रुलिङ भएपछि भने रावल थप झोक्किए । उनी आफू कार्यक्रम बहिस्कार गर्ने भन्दै हल बाहिर निस्किएका थिए ।
रावल कार्यक्रमनै छाडेर बाहिर आएपछि मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले बाहिर आएर रावललाई फकाएर पुनः हल भित्र लगेर गएका थिए । हलभित्र फर्केपछि रावलले फेरि आफ्नो प्रस्तुतीकरण गर्न थाले ।
आवेगमा रहेका पूर्वमुख्यमन्त्री रावलले त्यस क्रममा सचिवहरुलाई सबैभन्दा धेरै हकारेका थिए । मन्त्रीहरुलाई पनि हप्काएर अपमान गर्दै इच्छा नभएर बाहिर जानसम्म भने । तर अधिकांश सहभागीहरु भने रावलको ब्यवहारमाथि आपसमा खिसिटिउरी गरिरहेका थिए । रावल भने बाहिरकाले मात्र जान्ने, बाहिरका मात्र विज्ञ हुने भन्ने हुँदैन, हामीले पनि जानेका छौँ भन्दै झर्केका थिए । ‘रमितामात्रै होइन, जात्रा नै भयो नि,’ एमालेकै एक सांसदले भने ‘उहाँ उपस्थित कार्यक्रममा जहिल्यै जहाँ पनि बेइजती मात्र हुन थाल्यो ।’
सत्रलाई रावलले हस्तक्षेप गरेपछि विज्ञका रुपमा अघिल्ला सत्रमा प्रस्तुतीकरण गरेका आर्थिक मामिला सचिव अधिकारी र पूर्वसचिव मैनालीको प्रस्तुतिमाथि छलफल, टिप्पणी तथा सुझाव राख्ने कार्यतालिका नै बिथोलिएको सहभागी सांसदहरुले बताए ।
रावलको हस्तक्षेपूर्ण व्यवहारका कारण पहिलो सत्रका दुई वटा प्रस्तुतिमाथिको छलफल नै हुन पाएन । त्यतिमात्रै होइन, दोस्रो सत्रको अध्यक्षता सामाजिक विकास मन्त्रीले गर्ने भनिएको कार्यतालिका समेत बिथोलिएको थियो । ‘उहाँलाई आफ्नो प्रस्तुति गर्ने इच्छा थियो भने सेड्युलमै राख्न लगाएको भए हुन्थ्यो’ एक सांसदले भने, ‘पूर्वमूख्यमन्त्रीजस्तो गरिमामय पदमा रहेर पनि उहाँले आफ्नो पदीय मर्यादाको कहिल्यै ख्याल गरेको देखिएन ।’
प्रतिक्रिया