ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुला–तिङ्कर सडक निरीक्षण गर्दै फर्किए दुई मन्त्री, गरे यस्तो प्रतिबद्धता

बिहिबार १३, मङि्सर २०८१ ०८:४४

धनगढी । सङ्घीय सरकारका दुई मन्त्रीले महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका छन् । रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुलाले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका हुन् ।

टोलीमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल पनि सहभागी थिए । उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुगेको थियो ।

सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेको छ । छाङ्गरुबाट सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । निरीक्षणपछि दार्चुला–तिङकर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

भौगोलिक अवस्थाका कारण पनि छुट्टै योजनाको रुपमा अघि बढाउन भौतिक मन्त्री सहमत भएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । ‘अहिलेको भ्रमणले तीन वटा उपलब्धि हासिल हुने देखेको छु,´ उनले भने, `मन्त्रीद्धयबाट तिङ्कर सडकलाई छुट्टै योजनाको रुपमा अघि बढाउने, पाँच वर्षभित्र सडकको ट्रयाक खुलाउने गरी बजेट व्यवस्थापन गर्ने र हेलिकोप्टरमार्फत व्याँसको छाङ्गरुमा स्काभेटर पुगाउने प्रतिवद्धता भएको छ ।’ त्रिदेशीय सडकका रुपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक हो । तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा  लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् । 

०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले रु नौ करोड बजेट विनियोजन गरेको छ ।

उक्त रकमले १.८ किमी नयाँ ट्र्याक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ  । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमी छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८–८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।
यो सडक नबन्दा सर्वसाधारण सदरमुकाम दार्चुलाबाट छाङ्गरु, तिङ्कर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हालैमात्र तिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् ।

प्रतिक्रिया