धनगढी । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्न मन भए खुला राजनीतिमा आएर चुनाव लड्न चुनौती दिएका छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पूर्वराजा शाहलाई शासन गर्न मन भए खुला राजनीतिमा आएर चुनावमा होमिन चुनौती दिएका हुन् ।
उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन,’ उनले भने । लोकतन्त्रजस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताए ।
‘आन्दोलनबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । हाम्रोजस्तो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र कहाँ छ ?’ उनले भने ।
गृहमन्त्री लेखकले लोकतन्त्रविरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको बताए । समाज विकासको विज्ञानले समाजपछि फर्किँदैन भनेकाले पनि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया