टीकापुर । कैलालीको टीकापुरमा प्रार्थना सभा आयोजना गर्ने मध्येका सात जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत रहेको स्रोतले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पक्राउ परेकाहरुलाई ठगी मुद्दाअन्तर्गत कारबाही गरिने बताए । ‘आयोजक मध्येका सात जना पक्राउ परेका छन्,’ उनले भने, ‘ठगी मुद्दा दायर गर्ने र सोहीअनुसार कारबाही हुन्छ ।’
फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले सभामा उपचारका लागि आएका बिरामीहरुबाट ठूलो रकम संकलन गरेको बताइएको छ ।
तीमध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो । इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी नविनराजा बुढाथोकीले पीडितको पाँच लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए । ती बाहेकका व्यक्तिहरुको पैसा भने आयोजकले फिर्ता गरेको छैन ।
सभामा भारतीय नागरिक बजिन्दर सिँहले वर्षौदेखि अपाङ्गता भएका व्यक्तिहरुको उपचारका नाममा झारफुक गरेका थिए ।
तीमध्ये कतिपयले निको भएको बहाना गरेका थिए । सहभागीहरुका अनुसार ती निको भएको बहाना गर्ने व्यक्तिहरु आयोजक मध्यकै थिए ।
उनीहरुले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए । भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताइएको छ । पश्चिम तराइका दर्जन बढी जिल्लाका सयौं व्यक्तिहरु सभामा सहभागी भएका थिए ।
उनीहरु कोही ह्विचियरमा थिए भने कसैलाई आफन्तले पिठ्युँमा बोकेर सभामा पुगाएका थिए । टीकापुर नगरपालिका वडा नम्बर ५ स्थित खेल मैदान भरिएको थियो । सर्वसाधारणको सहभागितता देख्दा ठूलै मेला महोत्सवको झल्को देखिन्थ्यो ।
भारतीय नागरिक सिँहकै उपस्थितिमा यस्तै सभा मंसिर ५ र ६ गते चितवनको सौराहामा समेत सम्पन्न भएको थियो । त्यहाँ पनि बिरामीलाई निको पार्ने भन्दै प्रचार गरेर सर्वसाधारण जम्मा पारिएको थियो ।
प्रतिक्रिया