ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारले पर्यटन महोत्सवबाट हात झिक्यो

सोमबार २६, फागुन २०८१ ०७:५८

धनगढी । आगामी चैत पहिलो साता हुने भनिएको पर्यटन महोत्सवबाट सुदूरपश्चिम प्रदेश सरकारले हात झिकेको छ । प्रदेश सरकारको सहयोगमा निजी क्षेत्रले महोत्सव गर्ने तयारी गरेको थियो । तर महोत्सवको तयारी भइरहेको बेला प्रदेश सरकारले अहिले निजी क्षेत्रलाई महोत्सवबाट बाहिर राख्न खोजेको पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

सरकारले पर्यटन महोत्सव सञ्चालन गर्न यसवर्ष ४० लाख बजेट विनियोजन गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहमतिअनुसार निजी क्षेत्रले चैत ४ देखि ६ गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको थियो । 

सुदूरपश्चिमका पर्यटन व्यवसायीलगायत सरोकारवालाले धनगढीमा पर्यटन महोत्सव सञ्चालन गर्न  होटेल व्यवसायी केशवदत्त पाण्डेयको संयोजकत्वमा सुदूरपश्चिम पर्यटन महोत्सव मूल समारोह समिति गठन गरेका थिए । तर अहिले आएर महोत्सव आयोजकबाट निजी क्षेत्रलाई बाहिर राख्न खोजेको भन्दै यहाँका पर्यटन व्यवसायीले पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।

‘तयारी धेरै अगाडि बढीसकेपछि सरकारले अहिले निजी क्षेत्रलाई आयोजक समारोह समितिबाट बाहिर राख्न खोजेको छ,’ समितिका संयोजक पाण्डेयले भने, ‘हामीले पर्यटन महोत्सव सञ्चालन गर्न नेपाल पर्यटन बोर्डसँगसमेत सम्झौता गरिसकेका थियौँ ।’ अहिले निजी क्षेत्रलाई बाहिर राखेर सरकारले आफै साताव्यापी मेला राख्न खोजेको उनले बताए ।

प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको निर्देशनमा मुख्यमन्त्रीको संयोजकत्वमा आयोजक समिति गठन गरेर मेला सञ्चालन गर्ने सरकारको तयारी छ । महोत्सवको तयारीस्वरुप भारतको सीमावर्ती प्रदेशका ट्राभल तथा होटेल व्यवसायी औपचारिक निमन्त्रणसमेत पठाइसकिएको पाण्डेयले जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रदेश सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्न खोजेको बताए । ‘निजि क्षेत्रसंग मिलेर महोत्सव गर्ने र बजेट खर्च मन्त्रालयले गर्ने गरी तयारी भइरहेको थियो,’ उनले भने, ‘अहिले आएर निजी क्षेत्रलाई बाहिर राख्न खोजियो ।’ सरकारले आफै गर्ने मेलामा निजी क्षेत्रको सहभागिता नरहने उनले बताए । महोत्सव सञ्चालनका लागि पर्यटन बोर्डले थप ३० लाख दिने सहमति गरेको छ । 

फागुन २८ गते प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिले महोत्सवको मोडालिटीमा आपत्ति जनाउँदै उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री र सचिवलाई पत्र पठाएको थियो । पर्यटन महोत्सवको सट्टा पर्यटन सप्ताहको रुपमा मनाउने भन्दै मन्त्रालयलाई समितिले निर्देशन दिएको थियो । 

प्रतिक्रिया