धनगढी । भौतिक निर्माण सम्पन्न भएको अढाई वर्षपछि धनगढी सभागृहको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका–८ मा पौने ३१ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको उत्त, सभागृह प्रधानमन्त्री ओलीले आइतबार उद्घाटन गरेका हुन् । भौतिक संरचना निर्माण भएको अढाई वर्षपछि सवा दुई करोडको साउण्ड सिस्टम र भिआइपी फर्निचर जडानको ठेक्का सम्झौताको तयारी छ । सञ्चालन कार्यविधि भने बनाइएको छैन ।
संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इञ्जिनियर पुष्पराज भट्टले साउण्ड सिस्टम र फर्निचर खरिद तथा जडानको लागि ठेक्काका लागि फर्म छनोट भइसकेको भए पनि सम्झौता गर्न बाँकी रहेको बताए । उनले सञ्चालनको मोडालिटी निर्धारण र कार्यविधि बनाउने काम धनगढी उपमहानगरपालिकाले नै गर्नुपर्ने बताए ।
धनगढी सभागृह उद्घाटनकै अवसर पारेर आइतबार नै प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकालाई सभागृह हस्तान्तरण समेत गरेका छन् । निर्माण कम्पनीले ०७९ असारमा सम्पन्न गरी संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको थियो । त्यसै बेला इकाईले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाए पनि उपमहानगरपालिकाले फर्निचर र साउण्ड सिस्टम जडान भएपछि मात्रै बुझ्ने अडान लिएपछि सो कार्य हुन सकेको थिएन ।
तर, हालसम्म धनगढी उपमहानगरपालिकाले माग गरेअनुसार फर्निचर र साउण्ड सिस्टम जडान भएको छैन । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले कार्यक्रमबाट धनगढी सभागृह उपमहानगरपालिकालाई हस्तान्तरण भएको बताए । उनले सञ्चालनको मोडालिटी र सञ्चालन कार्यविधि बारे आफूलाई जानकारी नभएको पनि बताए ।
धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँमा डेढ विघा जमीनमा राष्ट्रिय सभागृहको मोडेलमा नौ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, दुई सय जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल कक्ष निर्माण गरिएको छ । करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । आयोजना कार्यालयका अनुसार बिजुली–बत्तिसहित तातो–चिसोका लागि एसि तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य अढाई वर्ष पहिले भएको थियो ।
उच्च गुणस्तरको साउण्ड सिस्टम जडान नभएकै कारण निर्माण सम्पन्न भएको अढाई वर्षसम्म सभागृह सञ्चालन हुन सकेको छैन । फर्निचर र साउण्ड सिस्टम खरिद तथा जडानको लागि परामर्शदातासंग तत्कालै सम्झौता गरी यसै आर्थिक वर्षभित्र जडानसमेत सम्पन्न गरिने इञ्जिनियर भट्टले बताए ।
सभागृह निर्माण भइसकेको भए पनि साउण्ड सिस्टम र सञ्चालन मोडालिटी तथा कार्यविधिको अभावमा प्रदेश सरकार, स्थानीय सरकारका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठूला कार्यक्रमहरु सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्रांगणमा टेण्ट लगाएर आयोजना गर्ने गरिएको छ ।
धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरुले त्यस्ता कार्यक्रम महंगो भाडा तिरेर पार्टी प्यालेस र होटलमा सञ्चालन गरिरहेका हुन् ।
प्रतिक्रिया