ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘सुदूरपश्चिममा जन्मिएको हुँ, देशभरीबाट माया पाएँ’

सोमबार २६, फागुन २०८१ ०५:४७

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा जन्मिएर देशभरीबाट माया पाएको बताएका छन् । कैलालीको धनगढीमा सुरु भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘सुदूरपश्चिमले मलाई माया र सद्भाव दियो,’ उनले भने, ‘सुदूर पूर्वले पनि माया दियो । तराइदेखि हिमालसम्मको साथ पाए । फेरि पनि यस्तै साथ पाएपछि प्रधानमन्त्री बन्ने सम्भावना छ । 

अर्को प्रसंगमा बोल्दै देउवाले आफ्नो पार्टीका केही व्यक्तिमा रोग लागेको बताएका छन् । पार्टीका केही व्यक्तिमा लागेको रोगका कारण समस्या भइरहेको बताएका हुन् । ‘हाम्रा साथीभाइमा केही रोग लागेको छ;’ उनले भने, ‘अन्तरघात भन्ने एउटा रोग छ । त्यसलाई सधासधाका लागि निर्मुल गर्नुपर्छ । पार्टीभित्र लड्ने त ठिक हो । तर, चुनाव लड्दा र भोट हाल्दा एक भएर जानुपर्छ ।’

अहिले प्रतिनिधिसभामा समानुपातिक समावेशीको आधारमा राजनीतिक प्रतिनिधित्व भएका कारण कुनै पनि दललाई बहुमत ल्याउन समस्या रहेको देउवाले बताए । ‘अहिले पनि बहुमत कसैको छै्रन, भोलि पनि बहुमत ल्याउने सम्भावना कम छ,’ देउवाले भने, ‘तर, हाम्रो पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुमत प्राप्त गर्न सक्छ । त्यसैले पार्टीका सबै साथीहरुलाई मतभेद अलग राखेर लाग्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै त्यसको सुरुवात होस् ।’

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग दुई वर्षपछि काँग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति रहेको स्मरण गराए । ‘दुई वर्ष ओलीजीले सरकार चलाएपछि प्रधानमन्त्री मलाई बनाउने सहमति भएको छ,’ उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो । एमालेको पनि काँग्रेस हो । अहिलेको आवश्यकता भएकाले मुख्य प्रतिस्पर्धीसंग मिलेर बसेका छौं ।’

प्रतिक्रिया