धनगढी । अघिल्लो साता राति साढे १० बजे कैलालीको धनगढीका यदु जोशी ट्राफिक चौराहबाट बिरामी भेट्न माया मेट्रो अस्पताल जाँदै थिए । छ लेन सडक हुँदै मोटरसाइकलमा अस्पताल गइरहेका जोशी ट्राफिक प्रहरीले राखेको ब्यारिकेटमा ठोक्किए ।
‘दिनमा पार्किङ व्यवस्थापनका लागि ट्राफिकले राख्ने उक्त ब्यारिकेट ट्राफिक प्रहरीले राति पनि नहटाउने रहेछ,’ उनले भने, ‘उक्त व्यारियरमा कुनै लाइट पनि नहुँदा नजिकै पुग्दा पनि नदेखिने रहेछ । मोटरसाइकल कम गतिमै हुँदा बाँचियो । तर, दिनमा ट्राफिक व्यवस्थापनका लागि राखे पनि राति त हटाउनुपर्ने हो । त्यो त धराप जस्तै भएको छ ।’
दुई साताअघि धनगढीकै इन्द्र चौधरी पनि उक्त ब्यारिकेटमा ठोक्किएर दुर्घटनामा परेको बताउँछन् । ‘सडकमा न प्रहरी हुन्छ न त चेकिङ नै भइरहेको हुन्छ,’ उनले भने, ‘चेकिङका क्रममा राखिने पूर्वाधार राति पनि सडकमै छोड्दा दुर्घटना बढेको छ ।’
कैलालीमा ट्राफीक प्रहरीको ड्युटी राति १० बजेसम्म मात्रै राखिएको छ । मुख्य राजमार्ज र अन्य सडकमा सवारी चेकजाँच र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिएको हुन्छ । तर, त्यस क्रममा सडकमा राखिएका ट्राफिक पूर्वाधार राति पनि नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो ।
धनगढीको छ लेन सडकअन्तर्गत चौराह नजिकै दुबैतर्फ एक–एक वटा ब्यारिकेट ट्राफिक प्रहरीले राखेको छ । पाँच फिटभन्दा बढी लम्बाइ भएका ती ब्यारिकेटलाई रातिको समयमा पनि प्रहरीले हटाउने गरेको छैन । पटकपटक ती ब्यारिकेटमा ठोक्किएर दुर्घटना हुँदा ब्यारिकेट पनि जीर्ण बनेका छन् ।
यस्तै धनगढीकै मिलन चोकमा पनि ट्राफीक प्रहरीले सवारी चेकिङका क्रममा राख्ने पोलहरु बिच सडकमै छोड्ने गरेको छ । ट्राफिक प्रहरीको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढाएको धनगढीका अर्जुन चौधरीले बताए ।
यता जिल्ला ट्राफीक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाले यसबारे अनविज्ञता प्रकट गरे । ‘त्यस्ता ट्राफिक पूर्वाधारहरु ड्युटी सकिएपछि हटाउनुपर्ने हो,’ उनले भने, ‘हटाइएको नहुने भए अबदेखि हटाउन लगाउँछु ।’
प्रतिक्रिया