ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

को हुन् २५ करोडसहित पक्राउ परेका लामा ?

मङ्गलबार ०५, चैत २०८१ ०२:३७

धनगढी । २५ करोड रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । 

ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा विदेशी मुद्रा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी सात किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनले त्यतिबेला ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए । उनलाई महाशाखाले नै पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया