धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्की पाँच दिनदेखि आमाको किरिया गरेर बसेका छन् । आमा राधादेबी खड्काको १ चैतमा मृत्यु भएपछि उनीहरु किरिया बसेका हुन् ।
उनीहरुका ७९ वर्षीय बुबा खड्कसिंहको अपाङगता भएका व्यक्ति हुन् । दाजुभाइ पनि छैनन । आमाको मृत्युले विक्षिप्त भएका उनीहरु आमाको शब बोकेर घाटसम्म पुग्न नसके पनि अहिले काज किरियाका सबै परम्परा निभाइरहेका छन् ।
चार दिदीबहिनीमा कान्छी रहेकी रोहिताका अनुुसार मृत्युअघि नै राधादेवीले छोरीलाई किरिया गरिदिनु भनेकी थिइन् । ‘चारै जना दिदीबहिनी किरिया बस्न तयार थियौं,’ उनले भनिन्, ‘जेठी दिदी बिर्मा बडूवाल महिनावारी भएपछि किरियामा बस्न पाउनुभएन । हामी तीन दिदीबहिनी किरियामा बसेका छौं । बाजे भाईतर्फका एक जना दाई पनि किरिया बस्नुभएको छ ।’
बिर्मा, मानमती, दुरा र रोहिताको बिहे भइसकेको छ । आमा बिरामी भएपछि चारै दिदीबहिनी फागुनमै माइती घर तातापानी पुगेका थिए । त्यहाँ दश दान सक्काएर उनीहरु घरतर्फ लागेका थिए । घर पुगेको एक दिनमै आमाको मृत्युको खबर पाएपछि उनीहरु माइतीघर पुगेर किरियामा बसेका हुन् ।
खड्कसिंहका दाइको एक वर्षअघि मात्रै मृत्यु भएको थियो । उनको मृत्युको वर्षदिन नपुगेकोले उनीतर्फका छोराले किरिया बस्न पाएनन् । ‘मृत्युपछि हामी आफै पनि किरियाका लागि तयार भइसकेका थियौं,’ रोहिताले भनिन्, ‘छोरीले किरिया बस्नुहुन्न भन्ने कुरा कतैबाट पनि आएन । ब्राह्मणले पनि छोरी पनि छोरा जत्तिकै हुन् किरिया बस्दा हुन्छ भन्नुभयो ।’
प्रतिक्रिया